अरुण डाँडामा मङ्सिर २२ देखि महोत्सव

काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि मङ्सिर २२ देखि ‘अरुण डाँडा पर्यटन प्रवर्द्धन महोत्सव २०७९ आयोजना हुने भएको छ ।

‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत्सव’ भन्ने मूल नारासहित पर्यटकीयस्थल पौवादुङमा १ को अरुण डाँडामा छ दिनसम्म महोत्सवको आयोजना गर्न लागेका छन्।

अध्यक्ष सञ्जीव सुब्बाले महोत्सवमा आगन्तुकलाई लक्षित गरी स्थानीय जातजातिका खानाका परिकार, कृषि सामग्री तथा उत्पादन प्रदर्शनी गरिनेछ भने स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति पनि रहने अरुण प्रवर्द्धन समितिका पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका छन् ।

सुब्बाका अनुसार गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रचारका लागि महोत्सव आयोजना गरिएको हो । त्यहाँको पर्यटकीय क्षेत्रसँगै भाषा, संस्कार र संस्कृतिको उत्थानमा समेत टेवा पुग्ने हामीले विश्वास लिएका बताए ।

महोत्सवमा पर्यटन प्रवर्द्धन गर्नेगरी विभिन्न सामग्रीका स्टल, विभिन्न भाषाभाषी र जातजातिको संस्कृति झल्काउने प्रदर्शनी, स्थानीय खाना तथा स्थानीयवासीको कृषि उत्पादन प्रदर्शन गरिने उनको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले पर्यटन क्षेत्रको विकासमा गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको र महोत्सव आयोजना गर्नका लागि रु १० लाख उपलब्ध गराएको बताएका छन् ।

समितिका सचिव सरोज चाम्लिङ राईका अनुसार महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तु तथा सामग्रीलाई बजारीकरण गर्न सहयोग पुग्ने तथा यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन् ।