दोलखाको चार मतदान केन्द्रमा पुनः मतदान हुँदै

काठमाडौँ । दोलखाका ४ मतदान केन्द्रमा बिहीबार पुनः मतदान सुरु भएको छ। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताएका छन् ।

सो मतदान केन्द्रअन्तर्गत १० वटा बुथ छन्। ती बुथमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र आवश्यक कर्मचारी गरी ८० जना खटाइएको छ। जहाँ ८ हजार ५ सय १४ जना मतदाता छन्।

एमाले दोलखाले गठबन्धन दलले जिल्लाका ८ मतदान केन्द्रमा बुथ कब्जा गरी एकलौटी मत खसालेको आरोपसहित मंसिर ४ गते साँझ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको थियो। त्यसपछि निर्वाचन आयोगले सहसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली दोलखा पठाएको थियो।

उक्त टोलीले प्रतिवेदन दिएपछि आयोगले मंसिर ११ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय १५ गतेभित्र बैतेश्वर–२ को जनज्योति मावि मतदान केन्द्रका क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रका क, ख र ग तीन, वडा नम्बर ६ बैतेश्वर मावि मतदान केन्द्रका क, ख र ग तथा तामाकोशी–३ स्थित हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी १० बुथमा पुनः मतदान गर्न निर्देशन दिएको थियो।

आयोगको निर्देशनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले मंसिर १२ गते बैठक बसी मंसिर १५ गते बिहीबार पुनः मतदान गर्ने निर्णय गरेको थियो।

मतदानलाई शान्तिपूर्ण बनाउन र सबै मतदातालाई निर्भयपूर्वक मतदान गर्ने वातावरण बनाउन ४ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिएको छ ।