पुल माग्दा १५ वर्ष बित्यो

काठमाडौं । झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन नसकेको बताएका छन् ।

संविधानसभा सदस्य भक्तबहादुर शाहदेखि अहिलेसम्मका सबै नेतालाई पुलका लागि माग गरे पनि कसैले ध्यान नदिएको स्थानीयवासी रेशमबहादुर खड्काले बताए ।

खड्काको अनुसार लुहादह, कोताङलगायतका आधा दर्जन गाउँका सर्वसाधारण ज्यान जोखिममा पारेर खोला तर्दै आएको छन् । खोला पार गर्न खोज्दा २०७५ सालमा जुनिचाँदे–४ कै कालो दमाईं र दल्जिते दमाईंको मृत्यु भएको थियो साथै यसअघि धेरैले ज्यान गुमाएको जुनिचाँदे–४ का वडाध्यक्ष हरिबहादुर खड्काको भनाइ रहेको छ ।

विसं २०६४ बाट पुलका लागि तत्कालीन जिल्ला विकास समितिमा धेरै पटक निवेदन दिइएको थियो । त्यसपछि सांसदहरुलाई पनि पुलका लागि जानकारी गराएका थियौँ र गाउँपालिकाले ६ वर्षदेखि निरन्तर नीति कार्यक्रमयसलाई समेटेको छ तर कार्यान्वयन भने नभएको खड्काले बताएका छन् ।

खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन आउने नागरिकले सास्ती भोग्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र कोताङका प्रमुख विनोदकुमार शाहीले बताए। उनले भने, पुलको बाटो हुँदै स्वास्थ्य संस्था आउँदा झन्डै १घण्टा बढी हिँड्नुपर्छ ।

व्यापारी पदमबहादुर बुढाले पुल नहुँदा व्यापारीलाई सामान ढुवानीमा समस्या भएको बताएका छन् । बाटो अप्ठ्यारो भएकाले धेरै मानिसहरुले धेरै कष्ठ भोग्नु परेको छ ।