लुहारका हत्या आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई बैतडी प्रहरीलाई बुझाइने पन्तले बताएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको पुष्टि गरे । उनले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताए । २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।