राप्ती नदीमा २ युवतीको मृत्यु

काठमाडौं । राप्ती नदीमा २ युवती पानीमा डुबेर मृत अवस्थामा फेला परेका छन्। उनीहरु बयर टिप्न राप्ती नदीको टापुमा पुगेका थिए ।

गत शनिबार बयर टिप्न गएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर डाँडा टेपरी निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारु फर्किने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए ।

उनीहरूको शनिबार बेलुकासम्म खोजी गर्दा नभेटिएपछि आइतबार बिहान डुबेको ठाउँबाट डेढ किलोमिटर दक्षिणतर्फ नदीमा दुवै युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीका कार्यालय बाँकेको अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए । ती मध्ये नदीमा ५ जना पौडी खेलेर बाँच्न सफल भए पनि २ जना बेपत्ता भएका थिए । नदीमा डुबेर बेपत्ता भएका दुवै युवतीको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजीको क्रममा फेला पारेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

उनीहरूको शवलाई पोस्टमार्टमका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको प्रहरी प्रमुख अधिकारीले बताएका छन् । ।