नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण घोषणा

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ नेफ्टाले जानकारी दिएका छन् ।

नेफ्टा अध्यक्ष पुष्कर लामाका अनुसार डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायाङ्कन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागेको बताए ।

उनले भने फिल्मको अन्तर्राष्ट्रियकरण प्राविधिक सङ्घको कार्यभार बनेको छ । अवार्ड आयोजनाले नेपाल अमेरिका बीचको ७५ वर्ष पुरानो कुटनीतिक सम्बन्ध प्रगाढ तुल्याउन सहयोग पुग्ने उनको विश्वास रहेको छ ।

अवार्ड आयोजनका लागि गैरआवासीय नेपाल सङ्घ र कूटनीतिक नियोगसँग पनि समन्वय गर्ने उनले बताए । कोरोना महामारीको कारण अघिल्लो वर्ष अवार्ड हुनसकेको थिएन तर, महामारीपछि फिल्म क्षेत्र लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको बताएका छन् ।

यसैगरी यसपटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन् । कूल ४२ विधामा वितरण हुने अवार्डमा जुरीले वैशाखमा फिल्म हेर्ने कार्यक्रम भएको छ । नेफ्टाले यसअघि मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड आयोजना गरिसकेको बताएका छन् ।