सम्झौता सकिँदा पनि किन बनेन पुल ?

काठमाडौं । नलगाड जलविद्युत् आयोजना आवतजावतका लागि सडकमा पर्ने मोटरेबल पुल अलपत्र परेको छ । पुल निर्माण नहुँदा त्यहाँका सर्वसाधारणलाई आवतजावतसँगै दैनिक उपभोग्य सामग्री लिनसमेत कष्ट परेको छ ।

नलगाड नगरपालिक ५ र बारेकोट गाउँपालिका ८ बीचमा रहेको खारास्थित नलगाड नदीमा पुल निर्माण नहुँदा त्यहाँका सर्वसाधारणलाई आवतजावतमा समेत समस्य हुँदै गएको हो । सडक निर्माण पूरा भए पनि पुल निर्माण नहुँदा आवतजावतसँगै दैनिक उपभोग्य सामग्री लिनसमेत कष्ट परेको छ ।

जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले लिएको पुलको ठेक्काको काम नगर्दा अलपत्र परेको छ। भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डसँग जोडिएको नलगाड पहुँचमार्गले जुम्लासँग सडक जोड्ने काम गर्दछ ।

पुल निर्माण नहुँदा नलगाड नदीमा परेर धेरैले ज्यानसमेत गुमाएको स्थानीय रामबहादुर खत्रीले बताए । उनले भने यो पुल निर्माण नहुँदा हामीले धेरै दुस्ख पाएको र नलगाड नदीमा काठको लाप्को बनाएर यातायातका साधन खोलामा तार्दा जोखिम हुनेका साथै काठबाट पुल बनाउँदा थप पैसा खर्च भएपछि त्यो सबै यात्रुबाट नै असुल्ने काम हुने बताएका छन् ।

नगरप्रमुख खड्काको कम्पनी खड्का कृष्ण कन्सट्रक्सन प्रालिले सडक र पुल निर्माणको जिम्मेवारी लिएको थियो । पुल निर्माण नहुँदा भेरी करिडोरबाट गएका सवारीसाधन खारा र बारेकोट गाउँपालिकाबाट आएका सवारीसाधन साधुतरामा रोकिने गरेका छन् । नलगाड जलविद्युत् आयोजनामा फिल्ड इञ्जिनियर पदम थापाका अनुसार दुई वर्षभित्र पुल निर्माण गर्ने सम्झौता थियो । तर सम्झौता भएको अहिले ६ वर्ष पूरा भइसकेको बताएका छन् ।

थापाको भनाइ अनुसार पुल निर्माणका लागि खारा र साधुतरा साइटमा दुई पिल्लर उठाइएको छ तर खारापट्टीको पिल्लर निर्माण गर्दा दुई मिटर ढलान गरेर मात्र पिल्लर राख्नुपर्ने छ । पिल्लर राख्दा नै समस्या भएपछिआयोजनाबाट चिठी लेखेर पूर्ण पिल्लर निर्माण गर्न आग्रह गरेका थिए ।

ठेकेदार कम्पनीले साढे ३ करोड लागतमा विसं २०७२ मा पुन निर्माणको ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले कार्यालयले लेखेको चिठी लत्याउँदै पिल्लर हालेपछि कार्यालयद्वारा ठेकेदार कम्पनीलाई रकम भुक्तानी रोकेपछि अहिले समस्या आएको छ ।