केवाईसी फाराम नभर्ने र ग्राहकसँग कारोबार नगर्न निर्देशन

काठमार्डौँ । नेपाल राष्ट्र बैंकले प्रचलित कानुन बमोजिम ग्राहक पहिचान (केवाईसी) विवरण नभर्ने र सेवाग्राहीसँग कारोबार नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

‘प्रचलित कानुन बमोजिम ग्राहक पहिचान सम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्नेछ,’ बैंकको निर्देशनमा भनिएको छ, ‘यस्तो अवस्थामा संस्थाले आवश्यक ठानेमा शंकास्पद् कारोबार र गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाईमा पेश गर्नेछ ।

कुनै ग्राहक सम्पत्ति शुद्धीकरण वा आतंकवादी क्रियाकलापमा संलग्न रहेको शंका लागेमा त्यस्तो ग्राहकको पहिचान प्रक्रिया अगाडि बढाउँदा, शंका गर्दा ग्राहकले जानकारी पाउने देखिएमा प्रमाणविनै वित्तीय जानकारी इकाइमा उजुरी गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरूले पालना गनुपर्ने आचरण सम्बन्धमा सदाचार नीति तर्जुमा गरी लागू गर्न पनि राष्ट्र बैंकको भनाइ छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ मा उल्लेखित व्यवस्था पालना हुने गरी आतंकवादी क्रियाकलाप तथा आम विनासकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धमा निरन्तर अनुगमन गर्नको लागि कार्यप्रणाली अवलम्बन गर्नु पर्ने व्यवस्था निर्देशनमा छ ।