युवती हत्या आरोपित युवक सार्वजनिक

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा प्रकाउ परेका युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रकाउ पर्ने बैतडीको शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई सार्वजनिक गरेको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीका जवानसमेत रहेका भरतलाई आइतबार कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएकामा आज सार्वजनिक गरेको छ । मृतक मायाका परिवारले कर्तव्य ज्यान मुद्दामा भरतको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

गत बुधबार शिवनाथ गाउँपालिका–६ को शिवनाथ मन्दिर नजिकै जङ्गलमा आधा घाँटी रेटेको अवस्थामा मायाको शव फेला परेको थियो । सोही ठाउँकी १५ वर्षीया नेहा लुहारको घाँटीमा धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको अवस्थामा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सिमानामा पर्ने लामाडाँगा भन्ने स्थानमा फेला परेकी थिइन् । हालसम्म उनको उपचार भइरहेको जानकारी दिएका छन् ।

प्रेमसम्बन्धमा रहेका माया र भरतबीच प्रेमसम्बन्धकै बारेमा खटपट हुँदा घटना भएको थियो । मायाको मोबाइल गत आइतबार भरतले आफ्नो नियन्त्रणमा राखेको र मायाको अन्य केटाहरूसँग पनि प्रेमसम्बन्ध रहेको शङ्कामा भरतले मायाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थपेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिएका छन् ।