नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौँ । आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बाजार १६ .६१ अङ्कले घटेर १ हजार ९ सय १७. २८ मा कारोबार भएको छ ।

आज २ सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार ७ सय १९ कित्ता शेयर १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५ सय ५० मा कारोबार भएको छ । आजको कारोबारमा ३७ कम्पनीका शेयर मूल्य बढेका छन् भने एक सय ५९ कम्पनीका शेयर मूल्य घटेका छन् ।

आज भएको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक मात्रै बढेको छ । अन्य सबै समूहका उपसूचक घटेका छन् । होटल तथा पर्यटन समूहको उपसूचक ०.३४ अङ्कले बढेको छ । बैंकिङ समूह १७.४२, विकास बैंक समूह ३०.८०, वित्त समूह १९.९९,जलविद्युत् समूह १२.३४ अङ्कले घटेको छ ।

आजको बजारमा सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६.०९ प्रतिशतले बढेको छ । नाडेप लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंकको संस्थापक शेयर रु ६७ करोड २ लाख ९३ हजार बराबरको ५१ लाख कित्ता शेयर किनबेच भएको छ ।