कुन पार्टीबाट कति महिला ?

काठमाडौँ । समानुपातिकतर्फको थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेका सात पार्टीले प्रतिनिधिसभाका लागि संघीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ। जसमा राष्ट्रियसभा पनि पर्छ। राष्ट्रियसभामा ५९ र प्रतिनिधिसभामा २७५ गरी संघीय संसद् ३३४ सदस्यीय रहने छन्। जसको ३३ प्रतिशत महिला भनेको १११ जना हो। ३३ प्रतिशतको हिसाबले संघीय संसद्मा ७६ जना महिला प्रतिनिधिसभाको समानुपातिकतर्फ आउनुपर्ने देखिन्छ।

कुन दलबाट कति महिला ?

३३ प्रतिशत महिला पुर्‍याउन कांग्रेसले २९ महिला समानुपातिकबाट पठाउनुपर्छ । समानुपातिकमा ३२ सिट पाएको कांग्रेसले २९ महिला पठाउँदा ३ जना मात्रै पुरुष पठाउनुपर्ने देखिन्छ।

कांग्रेसबाट राष्ट्रियसभामा ११ जना छन्। प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट ५७ जितेकोमा एक मात्र महिला प्रत्यक्षमा जितेकी छन्। अब बाँकी २९ महिला प्रतिनिधिसभाको समानुपातिकबाट पठाउनुपर्ने भएको छ। अब समानुपातिकबाट ३२ थपेर सांसद संख्या ८९ जना पुगेको छ। कांग्रेसबाट १ सय जनाको प्रतिनिधित्व हुनेछ। सय जनामा ३३ प्रतिशत महिला अनिवार्य गर्दा ३३ जना नै महिला हुनुपर्ने देखिन्छ।

एमालेबाट संघीय संसद्अन्तर्गत राष्ट्रियसभामा १७ जना छन्। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरेर ७८ जना पुगेको छ। दुवै सदनमा एमालेबाट ९५ जनाको प्रतिनिधित्व हुनेछ। जसमा ३३ प्रतिशत भनेको ३२ महिला पर्छन्।

अहिले राष्ट्रियसभामा ९ र प्रतिनिधिसभामा ४ गरेर एमालेका ११ जना महिला छन्। बाँकी १९ जना महिला प्रतिनिधिसभाको समानुपाकितर्फबाट पूर्ति गर्नुपर्नेछ। बाँकी १५ जना पुरुषलाई मात्र समानुपातिकबाट संसद्मा प्रवेश पाउने देखिन्छ।

त्यस्तै, माओवादी केन्द्रबाट १२ जना महिला आउने देखिन्छ। हाल संघीय संसद्अन्तर्गत राष्ट्रियसभामा १५ जना छन्। प्रतिनिधिसभामा ३२ जना पुग्दैछन्। दुवै सदनमा माओवादीबाट ४७ जनाको प्रतिनिधित्व हुँदैछ। ४७ जनाको ३३ प्रतिशत १६ हो। प्रतिनिधिसभाको प्रत्यक्षबाट १ जनामात्रै निर्वाचित भएकोमा समानुपातिकबाट प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ। १४ सिटमात्रै पाएको माओवादीले समानुपातिकबाट १२ महिला पठाउँदा बाँकी २ सिट मात्रै पुरुषले पाउने देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १३ सिट पाएको छ। प्रतिनिधिसभामा २० जना जानेछन्। रास्वपाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ महिला निर्वाचित भएका छन्। २० जनाको ३३ प्रतिशत अनिवार्य व्यवस्थाअनुसार ७ महिलाको प्रतिनिधित्व हुनेछ। समानुपातिकबाट ५ पठाउनुपर्ने देखिन्छ। बाँकी ८ सिटमा पुरुषले मौका पाउनेछन्। नयाँ दल भएकोले यसअघि रास्वपाको राष्ट्रियसभामा प्रतिनिधित्व छैन।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको ५ जना महिला जान पाउने भएका छन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राप्रपाले ७ सिट जितेको छ। समानुपातिकतर्फ उसले ७ सिट पाउने भएको छ। यसअनुसार संघीय संसद्मा १४ जनाको प्रतिनिधित्व हुँदैछ। जसअनुसार राप्रपाले समानुपातिकबाट ५ महिलालाई अनिवार्य पठाउनुपर्छ। बाँकी २ सीटमा मात्रै राप्रपाले पुरुषलाई मौका दिने पाउनेछ। यसअघि राष्ट्रियसभामा प्रतिनिधित्व छैन।

जनता समाजवादी पार्टीबाट ४ जना महिला आउने भएका छन्। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ जना निर्वाचित भए। दुवै सदनमा जसपाबाट १५ जनाको सहभागिता हुँदैछ। १५ जनामा ३३ प्रतिशत महिला पुर्‍याउन उसले ४ महिला अनिवार्य रूपमा समानुपातिकबाट लानुपर्छ।

त्यस्तै, जनमत पार्टीबाट २ जना महिला आउनेछन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सिट जितेको छ। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता पाएको जनमतले ५ सिट पाउनेछ। यसअनुसार संघीय संसद्मा जनमतबाट ६ जना जानेछन्। ५ सिट महिला बाँकी ३ सिटमा पुरुष पठाउन पाउनेछ।अन्नपूर्णपोष्टबाट