तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । बिहीबारदेखि १५ दिनसम्म तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द भएको छ । सो सडक बन्द गरेर काम गरिने बताएका छन् ।

तानसेन–तम्घास सडकखण्डअन्तर्गत पर्ने पाल्पाको रिब्दिकोट गाउँपालिकाको सिरुखर्क माल्मुल क्षेत्रमा सडक फराकिलो गर्नका लागि काम थालिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीप निरौलाले जानकारी दिएका छन् ।

निरौलाले भने अप्ठ्यारो बाटोलाई फराकिलो बनाउन केही समय सडक बन्द गरेर कामको सुरुआत गरेको हो । उनले भने एम्बुलेन्स, शववाहनलगायत अति आवश्यक सवारीसाधनलाई अवस्था हेरेर ओहोरदोहोर गर्न दिइनेछ, उनले तोकिएको समयभन्दा चाँडो सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको बताए ।

यसैगरी माल्मुम क्षेत्रमा करिब दुई किलोमिटर साँघुरो, अप्ठ्यारो बाटोलाई फराकिलो बनाउने योजनाअनुरुप कामको थालनी गरिएको सडक डिभिजन कार्यालय पाल्पाका इञ्जिनियर निरञ्जन अर्यालले बताएका छन् । उनका अनुसार यस क्षेत्रमा हाल दैनिक ४० कामदार काम गर्दैछन् र साना सवारीसाधनका चालकले वैकल्पिक मार्गको रुपमा जोर्ते–चण्डीभन्ज्याङ सडक प्रयोग गर्न सक्ने छन् ।

आउँदो पुस ७ गतेसम्म सिरुखर्क–माल्मुल क्षेत्रमा बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र साँझ ७ वजेदेखि १० वजेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।