पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज विमानस्थलमा विमानस्थल सञ्चालन ल्याउनुअघिको कार्यअन्तर्गतको आपत्कालीन उद्धार अभ्यास गरेको हो ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी,स्वास्थ्यकर्मीलगायत गरी ६ सय जना उद्धार अभ्यासमा सहभागी भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता अनुप जोशीले बताएका छन् ।

उनका अनुसार यस्तो खालको उद्धार अभ्यास हरेक २–२ वर्षमा गर्ने गरिए पनि विमानस्थल सञ्चालनमा ल्याउनुअघि पहिलोपटक गरेका हुन् । जोशीले भने विमानस्थलमै जहाज दुर्घटना भएको अवस्थामा उद्धारका कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पूर्वअभ्यास गरेका थिए । घटनापछि त्यसलाई कसरी ‘ह्याण्डल गर्ने र जनधनको क्षति कमका लागि यस्ता अभ्यासले सघाउ पुग्ने छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान क्यालिब्रेसन फ्लाइट गत मङ्सिर ५ गतेदेखि १२ गतेसम्म गरेका थिए । यान्त्रिक उडान परीक्षणको प्रतिवेदन प्राप्त भइनसकेको प्रवक्ता जोशीले बताएका छन्।

विमानस्थल सञ्चालनको चुनौतीका रूपमा रहेको रिठ्ठेपानीडाँडा कटानको काम सुरु भए पनि ल्याण्डफिल साइट स्थानान्तरण अझै हुन नसकेको बताए । रिठ्ठेपानीको ४० मिटरमध्येमा १४ मिटर काटिसकिएको र बाँकी अवधिमा सबै काम सम्पन्न हुने विश्वास रहेको प्राधिकरणले जानकारी दिएको छ ।

पोखरा महानगरले विमानस्थल नजिकको ल्याण्डफिल साइट हटाउने प्रतिबद्धता जनाए पनि अझै सोही स्थलमै फोहोरमैला विसर्जन हुँदै आएको छ । महानगरले ल्याण्डफिलका लागि महानगरका विभिन्न वडामा स्थान खोजी गरे पनि टुङ्गोमा पुग्न नसकेको बताएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ निर्माण कम्पनी सिएएमसीईले निर्माण गरेको हो र यसअघि गत वर्ष चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरेका थिए । त्यसबेलामा विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।

यसैगरी चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरेको हो । विमानस्थलका लागि विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि ४ दशकपछि बल्ल निर्माण सुरु भएको थियो । विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण सुरु भएको बताएका छन् ।