अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिने बताएका छन् ।

प्रदेशसभातर्फ विसं २०७४ को जस्तै नतिजा प्राप्त भएको भए पनि प्रतिनिधिसभामा अपेक्षित नतिजा हासिल हुन नसक्नुका पछाडिका कारण खोजी गरी पार्टीले त्यसको उचित समाधान गर्ने उनको भनाइ रहेको छ ।

पार्टी सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १५औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्नुको अर्थ राष्ट्रिय राजनीतिमा कमजोर नभएको बताएका छन । मुलुकको राजनीतिमा आफ्नो पार्टीको भूमिका अहिले पनि केन्द्रीय नै रहेको र त्यसलाई कसैले खोस्ने स्थिति नभएको अध्यक्ष दाहालको भनाइ छ । राष्ट्रिय राजनीतिमा एजेण्डाका हिसाबले माओवादीकै एजेण्डा केन्द्रमा रहेको उनले बताए ।

इमान्दारिताका साथ आत्मसमीक्षा गरेर अगाडि बढेको खण्डमा माओवादी पुन विस्तारित हुने उनले विश्वास व्यक्त गर्नुभयो । उनले निराश वा चिन्तित भएर नभई आफूहरू प्रतिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष दाहालले आगामी दिनमा आफूलाई रुपान्तरित गरेर अगाडि बढ्नुपर्ने प्रतिबद्धता सबैले गर्न सकेको खण्डमा पुन विजयी हुने विश्वास व्यक्त गरेका छन् ।

उनले गम्भीर आत्मसमीक्षाको जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले रुपान्तरणका लागि दृढताका साथ प्रतिबद्धता गर्नैपर्ने बताएका छन् । दाहालका अनुसार जितपछि हार, हारपछि जित यो स्वभाविक प्रक्रिया हो र हारेपछि फेरि यो के भयो भनेर गम्भीररूपमा छातीमा हात राखेका समीक्षा गर्नुपर्ने बताए ।

दाहालले सूचना प्रविधिको उचित प्रयोग गर्नुपर्नेमा समेत जोड दिएका छन् । उनले आगामी दिनमा विचार र दृष्टिकोणसहित सूचना र प्रविधिको समुचित प्रयोग गर्ने बताए । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले जनअपेक्षा र समायानुकूलरूपमा काम गर्न कर्मचारी प्रशासनलाई आग्रह गरेका छन् ।