विद्यार्थी अझै कटेरोमै पढ्न बाध्य

काठमाडौँ । भूकम्प गएको सात वर्ष बितिसक्दा पनि दोलखाको भीमेश्वर नगरपालिका–८ स्थितको देवी माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक कटेरोमै पढ्न र पढाउन बाध्य भएका छन् ।

सम्बन्धित निकायले खासै चासो नदिँदा र निर्माण कम्पनीको लापरबाहीले समयमा विद्यालय भवन पुनर्निर्माण नहुँदा यसरी पढ्नु र पढाउनु परेको प्रधानाध्यापक किशोर दाहालले गुनासो गर्नु भयो ।

उहाँका अनुसार जस्ताकै छानो र बार समेत रहेकाले जाडोमा तपतप सित झरेपछि विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन सारै कठिन छ । कक्षा कोठामा एक अर्का कोठाको आवाजले बाधा भइरहन्छ । भएको कटेरोमा पनि ठाउँ नपुगेर बिहान र दिवा कक्षा सञ्चालन गर्नु परेको छ । आधा आधा घण्टाका कार्यपालिका बनाउनु पर्दा दिइएको पाठ्य भार अनुसार पठनपाठन गर्न सकिएको छैन ।

भवन निर्माण आधै छोडेर ठेकेदार लापत्ता छन् । गत असारदेखि काम भएको छैन । यसपालि त भवनमा कक्षा सञ्चालन गर्न पाइन्छ कि आशा निराशामा परिणत भएको प्रधानाध्यापक दाहालले गुनासो गर्नु भयो ।

नर्सरीदेखि कक्षा १२ सम्मका लागि १५ कोठा आवश्यक हुन्छ तर आठ कोठा मात्रै छ । उहाँले भन्नु भयो, टहरोमा बिहान कक्षा ९–१२, दिवा ३–८ र पुरानो भवनमा नर्सरी–२ कक्षा सञ्चालन गरिएको छ । जे जस्तो परिस्थिति भए पनि पढाउन बाध्य हुनु परेको छ ।

गत सालतिरबाट एडिबीको आर्थिक सहयोगमा तीन कोठे तीन तले दुई वटा नयाँ भवन निर्माण भइरहेको जानकारी दिँदै प्रधानाध्यापक दाहालले भन्नु भयो,निर्माण कार्यस्थल एकै ठाउँमा छ । रेक्टोफिटबाट सञ्चालन गर्न सकिने भनिएको छ कोठे भवन पनि मर्मत सुरु छैन । आगामी फागुन महिनापछि दुवै भवन प्रयोग भएपछि पढाइमा सहजता आउने अपेक्षामा रहेका छौँ ।

विद्यालयमा भवन अभाव मात्र होइन, शिक्षकको पनि उस्तै अभाव नै छ । उहाँले भन्नु भयो, थोरै शिक्षकले १–१२ कक्षा सञ्चालन गर्नु परेको छ । यो विद्यालयमा माध्यमिक एक, निमाविमा तीन र प्राविमा छ जना शिक्षक स्थायी छन् । माविमा पाँच राहत र शिक्षक छन् । न्यून शिक्षकले मुस्किलले विद्यालय धानिएको छ । विद्यालयमा ३२८ विद्यार्थी अध्ययनरत छन् । गोरकापत्रपोष्टबाट