सट्टाबाजी गराउने कार्यमा १ व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौं ‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न रहेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका १ घर भई ललितपुर महानगरपालिका २ सानेपा बस्ने २० वर्षीय आदर्श ठाकुर रहेका छन् ।

फिफा विश्वकप २०२२ लगायत विश्वमा संचालन हुने खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्न प्रयोग हुने उक्त एप्लिकेसनमार्फत सट्टाबाजी लगाउने रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी उनले विगत ८ महिनादेखि सट्टाबाजी गर्ने गरेको, बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट एकाउन्ट कारोबार गरेको, विभिन्न व्यक्तिका नागरिकताको प्रतिलिपि समेत खरिद गरी सोबाट विभिन्न सेवा प्रदायकहरुको सिमकार्ड समेत खरिद गरेको, वालेटमा संकलन गरेको रकम आफ्नो खाता रहेको विभिन्न बैंकमा रकमान्तर गरेको र उनले नविल, सिद्दार्थ र एन।आई.सी. एसिया बैंकमा क्रमश ६९ लाख ६ हजार ७ सय ७० रुपैयाँ, ४५ लाख ५३ हजार ५ सय २३ रुपैयाँ र ८८ लाख २४ हजार १ सय ५५ रुपैयाँ गरी जम्मा २ करोड २ लाख ८४ हजार ४ सय ४८ रुपैयाँ वालेटबाट रकमान्तरण गरेको अनुसन्धानको क्रममा खुल्न आएको जानकारी दिएका छन् ।