३ करोडको लगानीमा कन्दरा रिसोर्ट

काठमाडौँ । धनकुटाको जोरपाटीमा ३ करोडको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने बताएका छन् ।

जोरपाटी गाउँपालिका–२ को मध्यपहाडी लोमार्गस्थित निमार्माणाधीन उक्त रिसोर्ट स्थानीय युवा व्यवसायी बलदिव राईले सञ्चालनमा ल्याउन लागेका थिए । करिब २७ रोपनी क्षेत्रफलमा गत वर्षदेखि निर्माण थालिएको उक्त रिसोर्ट २ वर्षभित्र सञ्चालनमा आउने सञ्चालक राईले जानकारी दिएका छन् ।

सेन्चुरी बैंकको २ करोड, राष्ट्रिय वाणिज्य बैंकको र ४५ लाख र बाँकी निजी लगानीमा बन्न लागेको उक्त रिसोर्ट प्रदेश नं १ का आन्तरिक पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याउन लागिएको राईले बताएका छन् । यहाँ तराईबाट तिनजुरे, जलजले मिल्के क्षेत्र जाने पर्यटकलाई गासबास उपलब्ध गराइने उनले बताए ।

३ सय पाहुनालाई सेवा दिन मिल्ने क्षमताको उक्त रिसोर्टमा यही उत्पादन भएका तरकारी, सिस्नु, माछा, लोकल कुखुरासहित अर्गानिक खाना खुवाइने र वार्षिक ५० लाखको कारोबार गर्ने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा आउन लागेको बताएका छन् ।

यसैगरी समुद्री सतहबाट १ हजार ९ सय मिटरको उचाइमा रहेको यस स्थानबाट त्यहाँ आउने पर्यटकले यस क्षेत्रका मनोरम पहाडी शृङ्खला र कञ्चनजङ्घा हिमशृङ्खला अवलोकनको आनन्द लिन सक्ने जानकारी दिएका छन् ।