तिलागुफामा पर्यटकको रोजाइ

काठमाडौँ । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ मा रहेको तिलागुफा पर्यटकको रोजाइमा पर्न थालेका छन् ।

गुफाकै नाममा नगरपालिका नामकरण हुनु र नगरपालिकामार्फत पूर्वाधार निर्माणसमेत हुनुले तिलागुफा पर्यटक राजाइमा पर्न थालेको बताएका छन् । कर्णाली राजमार्गदेखि १ सय मिटर तिला नदीको छालमै ४७ मिटर लम्बाइमा रहेको तिलागुफामा दिनहुँ आन्तरिक र कहिलेकाहीँ बाह्य पर्यटक घुमफिर गर्न थालेको वडाध्यक्ष उपेन्द्रप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

वनभोजस्थल, प्रतीक्षालय र तालवरिपरि पैदलमार्ग निर्माण गरेको गुफाको पर्यटन प्रवद्र्धनका लागि तिला नदीमा डुङ्गा निर्माण गर्नुपर्ने उनले बताए । पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र त्यसका विषयमा पोस्टर बनाएर प्रचारप्रसारको काम थालनी गर्ने योजना रहेको छ ।

नेपालको प्रमुख पर्यटकीय गतव्य रारा जाने बाटो पनि पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले गुफाको अवलोकन गर्ने गरेको वडाध्यक्ष न्यौपानेले बताए । प्राकृतिक धार्मिक महत्व बोकेको गुफाको लम्बाइ ४० मिटर तथा चौडाइ करिब तीन मिटर रहेको छ उनले भने । गुफाको बनावट प्राकृतिक रहेको हुनाले यसलाई जस्ताको तस्तै राख्ने र गुफासम्म पुग्नका लागि सडक व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको छ ।

अहिले गुफासम्म पुग्नका लागि नगरपालिकाले सडकदेखि गुफासम्म रेलिङसहितको व्यवस्थित बाटो निर्माण गरेको र मन्दिरसहित अन्य पूर्वाधार निर्माण भइसकेको स्थानीय धर्म न्यौपानेले बताएका छन् ।

यहाँ अवलोकन गर्न आउने पर्यटकले तिलाका असला माछा स्याउ, सिमीलगायत अर्गानिक उत्पादन स्वाद लिन पाउनेगरी थप होमस्टेलगायत होटल व्यवस्थापन गर्न बाँकी रहेको स्थानीय चङ्खबहादुर रोकायले जानकारी दिएका छन् ।