कांग्रेस संसदीय दलको नेताको निर्वाचन हुने

काठमाडौँ । यही पुस ६ गते नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन हुने भएको छ ।

कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन आज कार्यतालिका सार्वजनिक गरेका छन् । निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेका छन् ।

तालिका अनुसार मतदाता नामावली प्रकाशन पुस ४ गते दिउँसो २ बजे, उम्मेदवारका लागि दर्खास्त पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ५ गते अपराह्न ५ः४५ बजेसम्म हुने बताएका छन् ।

समितिले उम्मेदवारको दर्खास्त साथ दाखिल हुनुपर्ने शुल्क ५१ हजार तोकेको साथै मतदान पुस ६ गते बिहान ८ देखि १० बजेसम्म हुने भएको छ । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले बताएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने र लगत्तै मतगणना गरी परिणाम घोषणा गरिने जानकारी दिएका छन् ।