बिहानैदेखि आन्तरिक उडानहरू प्रभावित बने

काठमाडौँ । बाक्लो हुस्सुका कारण आन्तरिक उडानहरू प्रभावित बनेका छन् । बिहानैदेखि भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टममा सञ्चालित विमानस्थलहरूमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत १२ वटा विमानस्थलमा मात्र इन्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) सिस्टम जडान भएको छ । अन्य बाँकी २५ वटा विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टमबाट मात्र जहाज अवतरण र उडान गर्न सक्ने व्यवस्था छ । यी २५ वटै विमानस्थलमा हुस्सुका कारण उडान हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

विशेष गरी बाक्लो हुस्सुका कारण मुख्य गरी उच्च पहाडी तथा तराईका विमानस्थलहरूको उडान प्रभावित बनेको छ । उडान नहुँदा जहाजमा आवतजावत गर्ने यात्रुहरू मर्कामा परेका छन् ।