नेपाल आउन नपाउने गरी शोभराजलाई ‘डिपोर्ट’ गरिँदै

काठमाडौँ ।  हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने भएको छ । सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुँदै छन् । केन्द्रीय कारागारको गोलघरमा रहेका उनलाई शुक्रबार कैद मुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ ।

आवश्यक कानुनी प्रक्रिया सकेर उनलाई पुनः नेपाल आउन नपाउने गरी फ्रान्स पठाइने गृह मन्त्रालयका एक अधिकारीले बताए । नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउन सक्ने अधिकार विभागसँग छ । त्यसको प्रयोग गरेर शोभराजलाई आउनै नपाउने गरी डिपोर्ट गर्न लागिएको हो ।

विभागले यस विषयमा गृह मन्त्रालयसँग पनि राय लिएको थियो । गृहले कानुनमा भएको अधिकार प्रयोग गरेर आवश्यक निर्णय लिन निर्देशन दिएको छ । ‘कारागारले अध्यागमनको जिम्मा लगाएपछि कानुनी र कागजी प्रक्रिया पूरा गरेर पुनः नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने तयारी भइरहेको छ, यसबारे नेपालस्थित फ्रान्सेली दूतावासका अधिकारीसँग पनि समन्वय भएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो ।

अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेले कारागारको पत्र अध्ययनपछि डिपोर्टको प्रक्रिया अघि बढ्ने बताए । ‘अध्यागमन कानुनमै यस विषयमा स्पष्ट व्यवस्था छ, त्यहीअनुसार निर्णय लिन्छौं,’ पाण्डेले कान्तिपुरसँग भने । शोभराजले तत्काल फ्रान्स नफर्की नेपालमै केही समय बस्ने व्यवस्था मिलाउन आग्रह गरेको तर विभाग त्यस्तो निर्णय गर्ने पक्षमा नरहेको स्रोतले बतायो ।

उनले १० दिन गंगालाल अस्पतालमा बसेर उपचार गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । ‘होटल वा अध्यागमनको निगरानीमै बसेर १० दिन अस्पतालमा बस्ने व्यवस्था मिलाइदिन शोभराजले आग्रह गर्नुभएको छ, यस विषयमा अध्यागमनसमक्ष हामी आग्रह गर्छौं,’ कानुन व्यवसायी गोपाल शिवाकोटीले भने । २०७४ जेठमा गंगालाल अस्पतालमै उनको मुटुको शल्यक्रिया भएको थियो ।

अन्तर्राष्ट्रिय ‘सिरियल किलर’ का रूपमा चर्चित उनलाई जेलबाट रिहा गरेर नेपालमै बस्ने गरी व्यवस्था मिलाउन नसकिने एक सरकारी अधिकारीले बताए । ‘उनका अरू देशमा पनि अपराध रेकर्ड हुन सक्छन्, अरू देशमा फरार सूचीमा रहेका व्यक्तिलाई हामीले जेलबाट रिहा गरेर नेपालमा बस्ने व्यवस्था मिलाउनु उचित होइन, त्यसलाई समेत मध्यनजर गरेर डिपोर्टको निर्णय हुन्छ,’ ती अधिकारीले भने ।

२०६० मा पक्राउ परेका शोभराज योजनाबद्ध रूपमा उन्मुक्ति पाउने मनसायका साथ नेपाल आएको एक पूर्वआईजीपी बताउँछन् । ‘विदेशमा अपराध गरेर जोगिन नेपाल आएका थिए, भक्तपुर घटनाबारे आफूविरुद्ध नेपालमा कुनै प्रमाण नभएको र पक्राउ परिहाले योजनाबद्ध रूपमा छुट्ने मनसायका साथ उनी नेपाल आएका थिए, त्यसपछि नेपालमा बसेर अपराध दुनियाँका विषयमा सनसनी फैलाउने योजनामा उनी थिए,’ ती पूर्वआईजीपी भन्छन् ।

उनले भने, ‘त्यसबेला उनी नेपालमा रहेको घटना पनि त्यस्तै नाटकीय रूपमा बाहिरिएको थियो तर प्रहरीको सावधानी र चलाखीपूर्ण अनुसन्धानले पहिलेको अपराधबाट भाग्न पाएनन् ।’

शोभराज पक्राउ परेदेखि नै रिहा गर्न विभिन्न कसरत भएका थिए तर अदालतबाटै दोषी ठहर भएपछि उनले करिब दुई दशक नेपालको जेलमा बिताइसकेका छन् । पछिल्लो पटक उनका तर्फबाट परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १५ दिनभित्र आफ्नो देश फर्कने व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको थियो ।

२०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चिच र क्यानडेली नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले शोभराजलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद ९२० वर्ष कैद० सजाय सुनाएको थियो । भक्तपुर अदालतको फैसलालाई २०६७ साउन १४ मा सर्वोच्चले सदर गरेको थियो । दुई विदेशीको हत्यापछि फरार भएका शोभराज घटनाको २८ वर्षपछि २०६० साल असोज २ मा काठमाडौंबाट पक्राउ परेका थिए । त्यसपछि उनी संलग्न हत्याकाण्डको मुद्दा ब्युँतिएको थियो । त्यही मुद्दामा सजाय भुक्तान गरिरहेका शोभराज २०८० असोज १ सम्म कैद बस्नुपर्ने हो तर सर्वोच्चले भक्तपुरको हत्या प्रकरणबाहेक अरू मुद्दामा संलग्न नभए वृद्ध अवस्था र दीर्घरोगीजस्ता विषयमा कारागार नियमावलीअनुसार पाउने छुट दिएर रिहा गर्न आदेश दिएको थियो ।

कारागार नियमावली, २०२० ले ६५ वर्ष उमेर पुगेका कैदीलाई असल चालचलनका आधारमा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ । त्यस्तो सुविधा विदेशी नागरिकले समेत पाउने व्याख्या गर्दै सर्वोच्च अदालतले अहिले १९ वर्ष ९९५ प्रतिशत० कैद भुक्तान गरिसकेका शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको थियो । हाल ७८ वर्ष पुगेका शोभराजले आफूले पनि ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा पाउनुपर्ने माग गर्दै आएका थिए । त्यसका लागि शोभराजले पटक–पटक सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चको आदेशपछि भक्तपुर अदालत प्रशासनले पनि शोभराजलाई रिहा गर्न कारागार प्रशासनलाई अनुमति दिएको थियो तर काठमाडौं अदालतमा पनि शोभराजविरुद्ध जाली राहदानी प्रयोग र ज्यान मार्ने उद्योगका अरू दुई वटा मुद्दा भेटिए । बैंककमा विदेशी नागरिकको हत्या गरी मृतकका नाममा जारी राहदानी लिएर नेपाल आएको तथा केन्द्रीय कारागारमै छँदा २०६७ फागुन २६ मा युनुस अन्सारीमाथि भारतीय नागरिक मनमित सिंह भनिने मनमित भाटियाले गोली प्रहार गरेको घटनामा उनी दोषी देखिएका थिए । जन्मकैदको सजाय भुक्तान गर्ने क्रममै ती दुवै मुद्दाको सजाय पनि भुक्तान भएकाले काठमाडौं जिल्ला अदालतले सर्वोच्चको पछिल्लो आदेशबमोजिम रिहा गर्न बिहीबार अबेर अनुमति दिएपछि शुक्रबार उनलाई रिहा गर्न लागिएको हो ।

अध्यागमन विभागले अरू अदालतमा पनि उनीविरुद्ध कुनै मुद्दा भएरनभएको खुलाएर मात्रै ल्याउन भनेपछि कारागारले सबै अदालत प्रशासनसँग जानकारी मागेको थियो । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले शोभराजविरुद्ध देशभरका अदालतमा कुनै पनि मुद्दा नभएको विवरण आएको बताए । ‘काठमाडौं र भक्तपुर अदालतबाट रिहा गर्न अनुमति आयो तर अरू अदालतमा शोभराजविरुद्ध मुद्दा भएरनभएको बुझ्ने क्रममा कुनै कैफियत भेटिएन, त्यस बेलासम्म समय घर्किसकेकाले शुक्रबार अध्यागमनमा बुझाउन पाएनौं,’ शिवाकोटीले कान्तिपुरसँग भने, ‘अब शुक्रबार अदालतको अनुमति र आदेशबमोजिम उनलाई अध्यागमनको जिम्मा लगाउँछौं ।’

विश्वभर ‘सिरियल किलर’ का रूपमा चिनिएका शोभराजविरुद्ध विभिन्न देशमा अपराध गरेको रेकर्ड छ । उनलाई रिहा गर्न सर्वोच्च अदालतले दिएको आदेशपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् । कान्तिपुरपोष्टबाट