सुदूरपश्चिममा भुवा पर्व सुरू

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भुवा पर्व सुरू भएको छ । भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने गरिन्छ ।

खप्तडछान्ना गाउँपालिका–५ का माधवप्रसाद जोशीका अनुसार सिन्धुघाँटीको सम्भतादेखि प्राचिन नेपाली समुदायमा भुवो पर्व मनाइँदै आएको बताएका छन् । सुदूरपश्चिममा जुम्ला सभ्यता छिटो फैलँदै आएका जिल्लामा भुवा पर्व मनाउने गरेको उनले बताए । पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको सङ्घर्ष, जङ्गलमा बास बसेको समय, विकासमा खेलेको भूमिकालाई लिएर भुवाका माणा गीत गाउने चलन रहेको जानकारी दिएका छन् ।

पाण्डवका भाइहरू वनबास बस्दा पुगेको ठाउँमा छोडेको चिनारी भएको आसपासमा यो पर्व बढी मनाउने गरेको र बढीजसो पाण्डव पुगेको ठाउँमा कतै ढुङ्गा बोकेको, कतै खनेको, केही आकृतिका ढुङ्गा गाडेकोजस्ता चिनारी छोडेको ठाउँमा यो पर्व बढी मनाउँने गरेको बताए ।

यसैगरी पछिल्लो समय पहिचान जोगाउनका लागि पनि धेरै समुदायले भुवा पर्व मनाउने गरेका छन् भने स्थानीय सरकार आफैँ पनि पर्व जोगाउनका लागि लागि परेका छन् । आफ्नो संस्कार, संस्कृति, पहिचान जोगाउनका लागि पर्वको जगेर्ना गर्नुपर्छ, “जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले भने पहिचान जोगाउनका लागि अहिले धेरै स्थानीय सरकार आफैँ अग्रसर भएका छन् । हामीले पनि पर्वको संरक्षणका लागि आर्थिक सहयोग गर्दै स्थानीयलाई आग्रह गरेको बताएका छन् ।

भुवा पर्वमा रातभरि आगो बालेर देउडा, भारीखेल, भस्सोलगायत खेल छुट्टाछुट्टै खेल्ने चलन छ । यो पर्व ३ देखि ५ दिनसम्म मनाइन्छ । कुनै ठाउँमा भुवो खेल्दा गाउँमा छैटी खेल्ने चलन पनि छ । बडिमालिका नगरपालिका–१ पाटा बाजुराका यज्ञराज पण्डितका अनुसार घरको जेठो छोरा जन्मेको १ वर्ष पूरा गरेपछि उसको घरमा गएर छैटी माग्ने चलन रहेको छ ।

उनका अनुसार भुवाका श्लोक पनि पाण्डवको जितसँगै आफ्नै भाषा, लय, संस्कृतिअनुसार फरक÷फरक गाउने गरिन्छ । कुनै गाउँमा मुकुट लगाई श्रृङ्गार गरी कसैलाई बाघ, चित्तल, हरिण बनाई बाजागाजाका साथ घुमाउने, नचाउने गरिन्छ भने कुनै ठाउँमा मध्यराति राँके लडाइँ गर्दै गाउँगाउँ जाने गरिन्छ ।

पण्डितका अनुसार हाम्रो बाजुरामा घरमा जेठो छोरो जन्मिएको एक वर्ष पूरा भएपछि भुवो पर्वकै अवसरमा छैटी खेल्ने चलन छ । छैटीमा घरको आँगनमा भगवान् श्रीकृष्णको गाथा गाउने, बच्चालाई मान्यजनले आशिर्वाद दिने र सबै गाउँलेलाई बोलाएर भोज गर्ने चलन छ । उनले भने जुरामा पनि फरक फरक तरिकाले भुवा पर्व मनाउने गरिन्छ ।

पछिल्लो समयमा सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि यो पर्व मनाउन थालेका छन् । द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसियाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवो खेल्ने गरिन्छ ।