महिला आयोग आफैं आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु गलत : मन्त्री रेग्मी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । महिला आयोग आफैं आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु गलत भएको उनको टिप्पणी छ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । मन्त्री रेग्मीले महिला हिंसा बढ्दै जानु तर आयोगले काम गर्न नसक्नु दुःखद विषय भएको गुनासो गरेकी हुन् ।

उनले मन्त्रालयमा बजेट नै नभएकाले हिंसापीडित महिलालाई आर्थिक सहायता दिन नसकेको स्पष्ट पारिइन् । मन्त्री रेग्मीले आगामी आर्थिक वर्षको बजेटमा भने महिला हिंसाका लागि आवश्यक बजेटको व्यवस्था हुनेगरी आफूले योजना तय गरेको दाबी गरीन् ।

‘‘महिला आयोग आफैँ आन्तरिक द्वन्द्वमा फसेर कति काम गर्नुस् भनेर हामीले छलफल गर्दा पनि त्यहाँबाट काम हुन सकेको छैन। यो विडम्बनाको कुरा हो’’, उनले भने, आगामी बजेटमा थोरै बास्केट फण्ड हुन्छ। त्यो पीडित महिलालाई दिन सकियोस्। अन्यथा एउटा एकदमै अप्ठ्यारो परेको महिला आउनुभयो भने पकेटबाट दुई पैसा दिनुबाहेक मन्त्रालयसँग एक पैसा पनि छैन। पैसा नै नभएपछि कसरी पीडितलाई राहत दिने ?’’

मन्त्री रेग्मीले आफूले महिला मन्त्रालयको बजेट दोब्बर वृद्धि गर्ने काम गरेको पनि बताइन् । ८० करोडभन्दा बढी बजेट नभएको मन्त्रालयका लागि चालू आर्थिक वर्षमा १ अर्ब ७८ करोड पुर्‍याइएको उनले बताइन् ।

मन्त्री रेग्मीले ८० प्रतिशत जनसङ्ख्यालाई प्रतिनिधित्व गर्ने आफ्नो मन्त्रालयका लागि अझै पनि बजेटको अभाव रहेको र सोही कारण पीडितको मागलाई सम्बोधन गर्न नसकिएको प्रष्ट पारीन् ।