अनधिकृत संरचना भत्काउने महानगरको अभियानमा नेवार समुदायको साथ

काठमाडौं । काठमाडौं महानगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै शुरु भएको अधिकृत संरचना भत्काउने अभियानमा काठमाडौंका नेवार समुदायले महानगरलाई साथ दिने भएका छन् । नेवार समुदायले पत्रकार सम्मेलन नै गरेर महानगरले शुरुवात गरेको अभियान आफूहरुको साथ रहेको जनाएका छन् ।

शनिवार काठमाडौमा नेवार समुदाय निकट संस्थाले पत्रकार आयोजना गरी महानगरपालिका क्षेत्रभित्र नदी किनारामा घर, टहरा बनाई बसोबास गर्दै आईरहेका वस्ती हटाउने महानगरको अभियानमा समर्थन रहेको पनि बताए । महानगरका प्रमुख बालेन्द्र साहले चालेको सो कदमका लागि स्थानीयवासीका रुपमा आफूहरुले पूर्ण रुपमा सहयोग गर्ने समेत बताए ।

पत्रकार सम्मेलनमा नेवा जातीय महासंघका अध्यक्ष मनोज खड्गीले काठमाडौं महानगरपालिका क्षेत्रभित्र नदी किनारा एवं सार्वजनिक जग्गाहरु सुकुम्वासीका नाममा अरुले नै कब्जा गरिरहेका कारण त्यस्ता बस्ती हटाउने जुनसुकै हालतमा पनि हटाउनु पर्ने माग समेत राखेका छन् । सो वस्ती हटाउने कार्यमा आफूहरु पूर्ण रुपमा सहयोग गर्ने समेत उनले बताए ।