काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।
गृहजिल्ला चितवन भएका दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेको थियो । अघिल्लो कार्यकालमा चितवनबाट निर्वाचन जित्नु भएका उनले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गरेको थियो । ती योजनाले अब पूर्णता पाउने र नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी भएका छन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री नहुँदा पनि ‘प्रचण्ड’को क्षेत्र र महानगर पूरै भागमा गएको ५ वर्षमा ४० अर्बभन्दा बढीका योजना परेका थिए । ती सबै योजनामा मुख्य भूमिका प्रधामन्त्री दाहालकै थियो । चितवन क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाको आधाभन्दा बढी भाग र माडी नगरपालिका पूरै पर्दछ ।
आफूले निर्वाचन जितेको क्षेत्रमा अरु धेरै विकासका काम गर्ने उनका कतिपय योजना अधुरै छन् । गोरखाबाट निर्वाचन जितेपनि प्रधामन्त्री दाहाल चितवनको अभिभावक भएकाले विगतमा झै जिल्लाको विकास निर्माणमा महत्वपूण भूमिका रहने नगरप्रमुख दाहालले बताए ।
आफू गोरखाबाट निर्वाचित भइसकेपछि यहाँ आएको बेला प्रधानमन्त्री दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा र गृह जिल्ला चितवन पनि भएको भन्दै यहाँको विकासमा चासो दिँदै आउनु भएको थियो । नगरप्रमुख दाहालले भने, “‘प्रचण्ड’ चितवनको अभिभावक हो, जनप्रतिनिधि हुँदा पनि नहुँदा पनि उत्तिकै दायित्व उहाँसँग छ । समग्र महानगरसँगै चितवनको विकासमा उनको भूमिका रहन्छ ।”
चितवन उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका कांग्रेस नेता राजन गौतमले उहाँ प्रधानमन्त्री हुँदा चितवनले विकासको अवसर पाउने बताउनुभयो । जिल्लाकै जनप्रतिनिधि बनाउनु पर्नेमा चितवन चुकेको भन्दै उनले गोरखाबाट जितेपनि गृहजिल्ला चितवन भएकाले यहाँको विकासमा प्रधानमन्त्री दाहालको भूमिका रहने उल्लेख गरे ।
जिल्लास्थित उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेलले प्रधानमन्त्री दाहाल यसअघि यहाँको जनप्रतिनिधि भएका बखत पनि २० वर्षमा हुने विकास पाँचैं वर्षमा भएकाले र आउँदो समयमा पनि जिल्लामा विकासको लहर आउने बताए । चितवनको विकासलाई देशैभर नयाँ नमूनाका रुपमा प्रस्तुत गर्न सकिने उनको भनाइ थियो ।
नेकपा (एमाले) का नेता विजय सुवेदीले चितवनवासीका लागि यो समय महत्वपूर्ण अवसर भएको बताए । यसअघि पनि प्रधानमन्त्री दाहालले ठूला योजना ल्याउनुभएको स्मरण गर्दै उहाँले त्यतिबेला गर्न नभ्याएका आयोजनाले अब पूर्णता पाउने विश्वास व्यक्त गरे । नारायणी तटबन्धजस्ता ठूला आयोजना उहाँले नल्याएको भए आउने थिएन भन्दै नेता सुवेदीले जिल्लावासीले यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताए ।
Add Comment