नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । यही मंङसिर ४ गते सम्पन्न निर्वाचनमा निर्वाचित भएका कर्णाली प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य नेकपा एमालेका विनोदकुमार शाहले शपथ गराएका हुन् । नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण गराउनुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए ।

ज्येष्ठ सदस्य शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम सांसदहरुलाई शपथ खुवाएका हुन् । ठाँटीकाँध गाउँपालिका–१ कोसेडीका ६६ वर्षिय शाह प्रतिनिधि सभा निर्वाचन क्षेत्र दैलेख–२, प्रदेश सभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएका थिए ।

प्रदेश राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश सभा भवनमा शपथ ग्रहण समारोहको आयोजना गरिएको थियो । शपथ समारोहमा धेरै पुरुष सांसदहरु दौरा सुरुवाल र महिला सांसदहरु सारी लगाएर आएका थिए । कतिपय सांसदहरुले आफ्नो जातीय पहिचान झल्काउने पोशाक समेत लगाएका थिए ।

२४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका कर्णाली प्रदेश सभा ४० सदस्यीय छ । कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका एक र एक र एक जना स्वतन्त्र गरी ४० जना सांसद रहेका छन् ।

शपथ ग्रहण कार्यक्रमका लागि नवनिर्वाचित सांसदहरुलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन् प्रदेश सभा सचिवालयले अनुरोध गरेको थियो ।