अस्पतालमै बच्चा छाडेर आमा फरार

काठमाडौँ । सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा सोमबार दिउँसो भर्ना हुन आएकी १ गर्भवती महिला छोरालाई जन्म दिएपछि फरार भएकी छिन् ।

ती सुत्केरीले अस्पतालको शौचालयमा बच्चा जन्माएर फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मेसु डाक्टर नवलकिशोर झाले बताएका छन् । शिशुलाई अहिले अस्पताल परिसरमै रहेको एकद्धार सङ्कट व्यवस्थापन केन्द्र ओसीएमसीमा राखिएको अस्पतालले बताएको छ । शिशुको अवस्था सामान्य रहेको मेसु झाले बताए ।

ती महिलाले आफ्नो नाम सैयम कुमारी, उमेर २२ वर्ष र ठेगाना भारत बिहार राज्य जिल्ला सीतामढी सोनवर्षा बताएकी छिन् तर सो नाम थर र ठेगाना झुटो हुन सक्ने आशङ्का गरिएको छ । सर्लाही प्रहरीका निमित्त प्रमुख नायब उपरीक्षक विजय यादवले घटनाको थप अनुसन्धान र फरार महिलाको खोजी भइरहेको बताएका छन् ।

ती महिलासँगै अर्को १ जना महिला पनि अस्पतालमा सँगै आएको भनिए पनि प्रस्ट हुन नसकेको बताए। सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले शिशुलाई ओसीएमसीमा राखेर हेरचाह भइरहेको जानकारी दिएका छन् । जन्माउनासाथ आमा फरार भएकाले सो शिशु अवैध सम्बन्धपछि जन्मिएको हुनसक्ने आशङ्का गरेका छन् ।

यसैगरी अस्पतालका स्टाफ नर्स र ओसीएमसीका कर्मचारीले शिशुको हेरचाह गरिरहेका छन् ।