राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी गर्ने सुरू गरेको छ । आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको बताएका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा १ महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् ।

नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले ५ वर्ष तोकिएको छ । संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभइ फरक–फरक मितिमा निर्वाचन हुने भएको छ । निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था रहेको छ ।

यस निर्वाचनमा सङ्घीय संसद् ३३४ र प्रदेशसभाका सदस्य ५५० मतदाता हुने र मुलुकको विद्यमान जनसङ्ख्या अनुसार यी पदको निर्वाचनका लागि सङ्घीय संसद्काप्रति सदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुने बताए ।

राष्ट्रपतिको आह्वान बमोजिम २ भन्दा बढी दलको समर्थनमा यही पुस १० गते नयाँ सरकार गठन भइसकेको बताएका छन् । गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहित आयोगले प्रतिवेदन गत मङ्सिर २९ गते प्रतिवेदन बुझाएको थियो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सम्पादन गर्नुपर्ने कामका लागि आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालतको न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्ने जानकारी दिएका छन् ।

यसैगरी निर्वाचनमा उम्मेदवार हुन सङ्घीय संसद्को सदस्यका लागि हुनुपर्ने योग्यताका साथै कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा कुनै कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्नेछ । निर्वाचनमा मनोनयनका लागि मतदाता नामावलीमा नाम समावेश भएका ५ जना प्रस्तावक र ५ जना समर्थक आवश्यक पर्ने कानुनी व्यवस्था रहेको छ ।