प्राकृतिक प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

आज बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शितलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड–१९ सङ्क्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिएका छन् ।

सचिव सिंहका अनुसार गृहमन्त्री लामिछानेले आन्तिरिक शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा गम्भीर हुन निर्देशन दिनुभएको छ ।

गृहमन्त्री लामिछाने कै अध्यक्षतामा उक्त बैठक बसेका थिए । बैठकमा गृहसचिव तथा रक्षा सचिवसहित सुरक्षा निकायका प्रमखु तथा प्रतिनिधिको सहभागिता रहेको बताएका थिए ।

यसैगरी सो क्रममा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिले गृहमन्त्री समक्ष सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए ।