सत्ता गठबन्धनमा आवद्व दलहरूको बैठक बस्दै

काठमाडौं । आज मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास खुमलटारमा सत्ता गठबन्धनमा आवद्व दलहरूका शीर्ष नेताको बैठक बस्दैछ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरूको उपस्थिति हुने जानकारी छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो पुस २५ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आव्हान गरेको छ । संसद् अधिवेशन अघि नै मन्त्री मण्डललाई पूर्णता दिने तयारी सत्ता गठबन्धन आवद्व दलहरूको छ ।

यस अघि प्रधानमन्त्री प्रचण्डले हात्तिवनमा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच वार्ता गरेको थियो ।