काठमाडौँ । कोरोनाको कारण लामो समयदेखि बन्द गरेको केरुङ नाका मंगलबारदेखि खोलेको छ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल नियुक्त भएको दोस्रो दिनमै चीनले नाका खुल्ला गरेको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासले रसुवागढी–केरुङ नाकाबाट मालवाहक कन्टेनर आएका तस्विरहरु राखेको छ । बुधबार बाँसका मुढालगायतका विभिन्न सामानले भरिएका ६ कार्गो ट्रक यो नाका हुँदै चीनतर्फ गएको दूतावासले जनाएको छ । चीनले मंगलबार बन्द नाका खोल्ने निर्णय गरेको थियो । यो निर्णयसँगै मंगलबार ८ कन्टेनर सामान निर्यात भएको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ ।
भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष ०७६/७७ मा यो नाका हुँदै चीनतर्फ ७३ करोड मूल्य बराबरका सामान निर्यात भएको थियो । तर, कोरोना महामारी सुरु भए पछि यो नाकाबाट आयात निर्यात र सर्वसाधारणको आवागमन भने बन्द जस्तै थियो ।
सर्वसाधारण र व्यापारीको आवतजावत २०७६ माघ देखि नै बन्द गरिएको थियो । चीनबाट सामान ल्याउन नेपाललाई सबै भन्दा नजिकको नाका तातोपानी हो । ०७२ सालको भुकम्प पछि लामो समयसम्म यो नाका बन्द हुन पुगेको थियो । केही समय अघि यो नाका खोलिए पनि विगतको जस्तो धेरै सामान आउन दिइएको छैन ।
चीनले नेपाली सामानलाई रोके पनि सानो अंशमा चिनियाँ वस्तु भने छोडदै आएको छ । अहिले यो नाकाबाट दैनिक एक दर्जन हाराहारीका कन्टेनर सामान आउने गरेका छन् । यो नाकाबाट पनि चीनले आयातमा प्रतिबन्ध लगाउँदा ३५ महिनादेखि केरुङको गोदाममा नेपाली सामान थन्किएका थिए ।
Add Comment