‘बाहिर चलेको हल्ला मात्र हो, कमरेडहरूको भावना विपरीत निर्णय हुँदैन’ : उपमहासचिव ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको समर्थनको दायरा विस्तार गर्नमा मात्र छलफल चलिरहेको बताएका छन्। एकीकृत समाजवादीलाई लक्षित गर्दै उनले  बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र भएको प्रस्ट पारेका छन् ।

‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ। त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्’ ज्ञवालीले भने।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ समीकरणले सरकार गठन भएसँगै अब नयाँ राजनीतिक समीकरणको बहस हुन थालेको छ। कम्युनिस्ट पार्टीलाई एकै ठाउँमा उभ्याउने गृहकार्यमा नेताहरू जुटेका छन्।

नयाँ समीकरणपश्चात बुधबार प्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको आकांक्षा राखेको स्रोतको भनाई छ। नेपालले राष्ट्रपतिको आंकाक्षा राखेकाले एमालेले उनलाई बनाउने चर्चा भएसँगै सांकेतिक रुपमा त्यसको खण्डन ज्ञवालीले गरेका हुन्। पार्टीभित्र कार्यकर्ताले विरोध गर्न थालेकाले ज्ञवाली सङ्कटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय नहुने प्रष्ट पारेका छन्।‘पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो । सङ्कटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन।’ज्ञवालीले भने,‘इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन ।’

एकीकृत समाजवादीका मन्त्रीहरुले नेपाललाई सरकारमा जाने वातावरण बनाउन दबाब दिँदै आएका छन्। नेपालले सरकारमा जाने वातावरण नबनाएको खण्डमा एकीकृत समाजवादीका केही सांसद तथा नेता पुन: एमालेमा फर्कने र त्यसो गर्दा सांसद पद सुरक्षित गर्ने उपाएको खोजीमा उनीहरु रहेको चर्चा पनि छ।

यता पार्टी विभाजनपछि पहिलोपटक प्रधानमन्त्रीको शपथग्रहण समारोहमा शीतल निवास पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीच संवाद भएको हो। प्रधानमन्त्री  प्रचण्डको शपथग्रहण समारोहमा ओली र नेपाल एकै ठाउँमा बस्न पुगेका थिए। नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई आफूसँगै तानेर संसदमा ठूलो दल बन्ने तयारीसहित गृहकार्य भइरहेको र एमालेमा फर्कन आह्वान गरिरहेका छन्। अन्नपूर्णपोष्टबाट