काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव यही पुस १६ गरिने भएको छ ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ठमेलमा सडक महोत्सव हुन लागेको हो ।
आज बिहान स्काई लाइन होटल ठमेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले कोेरोनाले थलिएको ठमेलको पर्यटन पुनरुत्थान गर्न अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएका छन् ।
ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ भन्ने मूल नाराका साथ सडक महोत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेका छौँ, उनले भने । ठमेलमा आयोजना हुन लागेको सडक महोत्सवमा १ लाख व्यक्तिको सहभागिता रहने परिषद्ले बताएको छ ।
ठमेल सडक महोत्सवलाई सम्पन्न गर्न नेपाल प्रहरीसँग सुरक्षा व्यवस्थापन र ट्राफिक प्रहरीसँग ट्राफिक व्यवस्थापका बारेमा छलफल भइसकेको अध्यक्ष शर्माले बताए । सो सडक महोत्सवमार्फत ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्नसमेत माग गरिने अध्यक्ष शर्माले बताएका छन् ।
पछिल्लो समय ठमेल पर्यटन विकास परिषद्ले विभिन्न इन्टरनेट कम्पनीको सहकार्यमा ठमेलभित्रको अव्यवस्थित तारसमेत व्यवस्थापन गरिसकेको छ ।उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रम पुस १६ गते साँझ ५ः३० बजे सुरु भई सांस्कृतिक कार्यक्रम रातको १२ः३० सम्म चल्ने उपाध्यक्ष धमलाले बताएका छन् ।
अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी गर्न लागिएको सडक महोत्सव सम्पन्न गर्न २५ लाख हाराहारीमा खर्च हुने परिषद्का महासचिव राजिव पाण्डेले जानकारी दिएको छ ।
Add Comment