अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौँ । अंग्रेजी नयाँ वर्ष अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सो जि.वमानस्थलको उद्घाटन गर्दै छन्।

नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन र उद्घाटनका लागि सबै तयारी पूरा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख बिक्रम गौतमले जानकारी दिएका हुन् ।

अन्तर्राष्ट्रिय उडानका लागि बुद्ध एयरले भारतका विभिन्न सहरमा उडान भर्न भारत सरकारसँग अनुमति मागेपनि अहिलेसम्म त्यसको रेस्पोन्स नआएको गौतमले जानकारी दिए। योसँगै उद्घाटनका दिन पोखरा–बनारस–पोखरा उडान गर्ने बुद्धको योजना पुरा हुन सकेन।

अन्तर्राष्ट्रिय उडानका लागि थाई स्माइल, जजीरालगायतले चासो राखेर कुराकानी गरिरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। छिट्टै पोखराबाट अन्तर्राष्ट्रिय उडान हुने गौतमले बताए।

उद्घाटन समारोहमा कार्यक्रम नागरिक उड्डयन प्राधिकरणले गर्ने तथा जनसहभागिता र प्रचारप्रसारको जिम्मा पोखरा महानगरपालिकाले लिएको महानगर प्रमुख धनराज आचार्यले बताए। करिब पाँच दशकदेखिको पोखरेलीको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने सपना पुरा भएको दिनलाई विशेष बनाउन महानगरले सार्वजनिक बिदा दिने भएको छ ।

विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान कहिलेबाट सुरु हुने हो भन्ने यकिन नभएको गौतमले बताए। आन्तरिक उडान भने आइतबारदेखि सुरु हुने छ।