आजदेखि कुमारी र एनसिसी बैंकको एकीकृत कारोबार सुरु

काठमाडौँ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स एनसिसी बैंक एकआपसमा गाभिएपछि कुमारी बैंककै नामबाट आजदेखि एकीकृत कारोबार सुरु भएको हो ।

गत मङ्सिर २५ गते दुवै बैंकले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत एकआपसमा गाभिने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले यही पुस ६ गते एकआपसमा गाभिन दुबै बैंकलाई अन्तिम स्वीकृति दिएको थियो ।

यी दुबै बैंक एक बराबर एक स्वाप रेसियोमा गाभिएका हुन् । एकीकृत कारोबारपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसिसी बैंकका रमेशराज अर्याल रहेका छन् । कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत रहेका छन् ।

एकीकृत कारोबारपश्चात् बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड, कूल निक्षेप ३ खर्ब २ अर्ब र कर्जा २ खर्ब ८० अर्ब पुग्नेको छ । गाभिएपश्चात् शाखा सङ्ख्या ३ सय छ, एटिएम सङ्ख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ र शाखारहित शाखा ६२ वटा पुग्नेका छन् ।

आज एकीकृत कारोबार सुरु भएपछि गठन गरिएको नयाँ सञ्चालक समितिको अध्यक्षमा अमिरप्रताप राणा रहका छन् । बैंकको सञ्चालकमा एनसिसी बैंकका पूर्वध्यक्ष चन्द्र बास्तोला तथा इमानसिङ लामा र कुमारी बैंकका कृष्णप्रसाद ज्ञवाली तथा महेश पोखरेल रहेको बताएका छन् । मर्जरपछि कुमारी बैंकको नयाँ सञ्चालक समिति गठन भएको छ ।