अशक्तलाई न्यानो कपडा वितरण

काठमाडौँ । नेपालगञ्जस्थित नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र मानव सेवा आश्रममा रहेका असहाय व्यक्ति चिसोका कारण प्रभावित भएपछि केन्द्रले न्यानो कपडा कम्बल वितरण गरेको मिलन केन्द्रका अध्यक्ष खडानन्द तिवारीले जानकारी दिएका छन् ।

उनका अनुसार केन्द्रले खाद्यान्न र नगद सहयोग समेत गर्ने बताएका छन् । नीलसागरमा रहने सहयोगापेक्षीहरुको आश्रमका लागि निर्माण भइरहेको भवनका लागि ३० हजार १ सय ११ र खाद्यान्न तथा न्यानो कपडा हस्तान्तरण गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बेसहाराको दुःख र पीडामा होस्टेमा हैँसे तथा हातेमालो गर्ने अभिप्रायले सङ्कलन गरेको रकम र खाद्यान्न मिलन केन्द्रले सहयोग गरेको बताएका छन् ।

केन्द्रले यसअघि पनि नेपालगञ्जमै सञ्चालित आश्रमलाई रु ५० हजार बराबरको न्यानो कपडा कम्बल सहयोग गरेको केन्द्रका उपाध्यक्ष गोविन्दप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

चिसोका कारण आश्रममा रहेका असहाय व्यक्ति प्रभावित भएपछि केन्द्रले आश्रम सञ्चालकसँग समन्वय गरी कम्बल वितरण गरेको र घर, परिवार र आफन्त नभएका तथा सडकपेटीबाट उठाएर ल्याएका व्यक्तिलाई सहयोग गर्नु मानवीय सेवा भएको उनको भनाइ रहेको छ ।