पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । यही पुस २७ गते सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने भएको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिएका छन् ।

उनले भने , मन्त्रिपरिषद्ले आज दुई वटा निर्णय गरेको छ, एउटा पृथ्वी जयन्तीको अवसरमा पुस २७ मा सार्वजनिक बिदा दिने र अर्को सरकारको न्यूनतम कार्यक्रम मन्त्रिपरिषद्बाट पास गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले २७ पुसमा बिदा दिने निर्णय गरेको बताए । आज सार्वजनिक गरिएको सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख गरेको छ ।

बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहेको थियो । तर २०६२र६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको बताएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरिसकेको राप्रपाले न्यूनतम् साझा कार्यक्रम, कम्तीमा तीन मन्त्रालय र पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्ने माग गर्दै आएका थिए ।