एनआई सीले ल्यायो १० वटा क्यास डिपोजिट मेसिन

काठमाडौँ । एनआईसी एशिया बैंकले विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ ।

सो बैंकले काठमाडौं स्थित न्युरोड बिशालबजार शाखा, कमलादी, खिचापोखरी, त्रिपुरेश्वर, रजिष्टर्ड अफिस (थापाथली), रुपन्देही स्थितबुटबल, कास्की स्थितपोखरा महेन्द्रपुल, कैलालीस्थित धनगढी चौराहा , मोरङ्ग स्थित बिराटनगर शाखा र पर्सा स्थित वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो ।

बैंककन प्रमुख सूचनाअधिकारी सुधिर नाथ पाण्डेका अनुसार क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न फारम नभरी सिधै खाता र मोबाइल नम्बरका आधारमा र अन्य व्यक्तिको खातामा पनि रकम जम्मा गर्न सकिने सुविधा ल्याएको छ ।

यो मेसिन बाट सो बैंकको खातामा बैंकिङ्ग समय भित्र नगद जम्मा गर्न सकिने व्यवस्था छ । खातानम्बर र मोबाइल नम्बरको आधारमा नगद रकम जम्मा गर्न सकिने यस मेसिनमा ५ सय र १ हजारका नोटहरूगरी एक पटकमा अधिकतम ९९ हजार ५ सय र दैनिक अधिकतम ९ लाख ९९ हजार ५ सय सम्म नगद जम्मा गर्न सकिने सुविधा ल्याएको छ ।

रकम जम्मा गर्ने प्रकृयालाई अझ बढी सुरक्षित बनाउने बैंकको उद्देश्य अनुसार बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर उल्लेख गरेपछि ग्राहको मोबाइलमा अस्थायी पासवर्ड (One Time Password-OTP) कोड प्राप्त हुनेछ ।

बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा उल्लेख गरेपछि मात्र क्यास डिपोजिटको काम अगाडि बढ्नेछ । उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल जम्मा गरि दिन्छ र डिपोजिट भएको जानकारी एसएमएस र डिपोजिट स्लिप मार्फत प्राप्त हुनेछ ।

बैंकका कुनै पनि प्रतिनिधि उपस्थित नभइ छिटोछरितो रकम डिपोजिट गर्न सकिने यो नवीन प्रविधिमा आधारित मेसिनले आफै रकम गन्ने र नक्कली नोटहरू देखिएमा सो नोट छुट्याउने समेत गर्छ । बैंकले देशका विभिन्न स्थानमा सो मेसिनहरू सञ्चालनमा ल्याए पछि नगद जम्मा गर्नकै लागि ग्राहहरूलाई लाइन लागेर लामो समय खर्च गरेर बस्न नपर्ने बैंकले विश्वास लिएको छ ।

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना७२% शाखाकार्यालयहरू स्थापना गरेको छ ।