विकास निर्माणमा गति दिन दाहाललाई विश्वासको मत : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन् ।

उनले १५ बुँदे सर्तसहित विश्वासको मत दिएको उल्लेख गरेका छन्।पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालले जनचाहनाअनुसार काम गर्नेमा आफू आशावादी रहेको बताए ।

सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग गरिरहने उनको भनाइ रहेको थियो । अध्यक्ष नेपालले विश्वासको मत लिने बेलामा गरेका प्रतिबद्धता पूरा गर्ने काममा केन्द्रित हुन प्रधानमन्त्री दाहाललाई आग्रह गरे । सरकारलाई राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा काम गर्न पार्टीले घचघच्याइ रहने छ, उनले बताए ।

संविधानको मूलमर्म र भावनालाई ध्यान दिएर अघि बढ्न अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई सचेत गराएका छन् ।