सातै प्रदेशले पाए मुख्यमन्त्री

काठमाडौँ ।  सातै प्रदेशले मुख्यमन्त्री पाएको छ। बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकै दिन चारवटा मुख्यमन्त्री नियुक्त भएका छन्। मधेसमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव, लुम्बिनीमा एमालेका लीला गिरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका हुन्।

बागमती, गण्डकी र प्रदेश १ ल भने यसअघि नै मुख्यमन्त्री पाइसकेको छ। बागमतीमा माओवादीका शालिकराम जमकट्टेल, गण्डकीमा एमालेका खगराज अधिकारी र प्रदेश १ मा एमालेका हिक्मत कार्की नियुक्त भएका हुन्।

मधेसमा यादव 

६३ जना सांसदको समर्थनमा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनलाई एमाले,  माओवादी केन्द्र, जनमत पार्टी, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा र दुई जना स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्धकुमार सिंहले समर्थन गरेको एमाले सांसद रामचन्द्र मण्डलले बताए। नेपालको संविधानको धारा १६७ को उपधार (२) बमोजिम मुख्यमन्त्रीका लागि यादवलाई नियुक्त गरेको हो।

प्रदेश प्रमुख मिश्रले आह्वान गरेको समयसीमाभन्दा पहिले यादवले मुख्यमन्त्रीका लागि दाबी पेस गरेकोमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका हुन्। सरकारलाई मधेसमा एमालेका २३, जसपाका १६, जनमत पार्टीको १३, माओवादीका ९, नेपाल संघीय समाजवादीका १, राप्रपाका १ र स्वतन्त्र २ सांसदको समर्थन छ।

को हुन् यादव ? 

बाराको हरिहरपुर गाविसमा २०३० फागुन ३० गते जन्मिएका यादवले गाउँकै विद्यालयमा उच्च शिक्षा हासिल गरे। स्नातक अध्ययन नसकिँदै राजेन्द्र महतो नेतृत्व सद्भावना पार्टीमा उनी लागे। राजनीतिमा प्रखर मानिएका उनी २०४८ सालमा तत्कालीन सद्भावना पार्टीको सदस्यता ग्रहण गरी सक्रिय राजनीतिमा होमिए।

सद्भावनाबाट राजनीति सुरु गरेका उनी पहिलोपटक तत्कालीन राजपाबाट चुनावी प्रतिस्पर्धामा विजयी भएका थिए। हाल उनी सिम्रौनगढ नगरपालिका–३ नयका टोला निवासी हुन्। गाँउ आसपासमा विद्यालय, शिक्षा, सामाजिक र स्वास्थ्य क्षेत्रमा उनका पसातै प्रदेशले मुख्यमन्त्री पाएको छ। बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकै दिन चारवटा मुख्यमन्त्री नियुक्त भएका छन्। मधेसमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव, लुम्बिनीमा एमालेका लीला गिरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका हुन्।रिवारले जग्गा र नगद दान गरेकाले नाम चर्चा हुने क्षेत्र हो। धनाढ्य परिवार (जमिनदार) का उनका बुवा प्रमानन्दप्रसाद यादव पनि पञ्चायतकालमा गाउँ पञ्चायतका मुखिया हुँदै प्रजातन्त्रपछि सद्भावना पार्टीका नेता थिए। सद्भावना पार्टीका उनी महासचिव थिए।

जसपा, लोसपा, सद्भावना लगायतका मधेश केन्द्रित दल एकीकरण भएर राजपा बन्दा उनी राजपाका राष्ट्रिय उपाध्यक्ष बनेका थिए। उनले प्रवीणता प्रमाणपत्र तह (आईएससी) सम्म अध्ययन गरेका हुन्। माध्यमिक शिक्षा गाउँ नजिकै सिम्रौनगढस्थित कंकाली माविबाट लिएका हुन्। २०६४ को पहिलो संविधानसभा सदस्यमा बारा क्षेत्र १ बाट प्रत्यक्षतर्फ सद्भावना पार्टीबाट निर्वाचित हुँदै संसदीय यात्रा सुरु गरेका थिए। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई नेतृत्वको सरकारमा सद्भावना पार्टीबाट उनी पहिलोपटक स्वास्थ्य राज्यमन्त्री र दोस्रोपटक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बने।

२०७० मा भने फेरि सोही क्षेत्रबाट संविधानसभा सदस्यमा उम्मेदवार बन्दा कांग्रेसका उम्मेदवारसँग पराजित भए। २०७४ मा बारा निर्वाचन क्षेत्र १ को (ख) बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट विजयी भई मधेसका सभामुख बने। पाँच वर्षसम्म सभामुखको अनुभव बटुलेका उनले २०७९ को चुनावमा सोही क्षेत्रबाट एमालेको तालमेलमा जसपाको तर्फबाट उम्मेदवार भएर विजयी भई मुख्यमन्त्रीसम्मको यात्रा तय गरे।

लुम्बिनीमा गिरी 

लीला गिरीले मुख्मयन्त्रीमा बहुमतसहितको दाबी पेस गरेपछि बुधबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियूक्त गरेका हुन्। ५८ जना प्रदेशसभा सदस्यको हस्ताक्षसहित गिरीले आफूलाई मुख्यमन्त्रत्री नियुक्ति गर्न दाबी गरेका थिए। एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोसपाका ३ जना र स्वतन्त्र दुई जनाले उनलाई समर्थन गरे। पाँच वर्ष अवधिको कार्यकाल लुम्बिनीमा एमाले र माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ। माओवादी नेतृत्वको चर्को दबाबपछि पार्टी नेतृत्व आधा–आधा कार्यकालका लागि सहमतिमा पुगेका हुन्।

को हुन् गिरी ? 

नवनियूक्त मुख्यमन्त्री गिरीको पुख्र्यौली घर गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घा हो। हाल उनी रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ स्थित शंकरनगरमा बस्दै आएका छन्। एमालेका पोलिटब्युरो सदस्य एवं प्रदेश सह इन्चार्जसमेत रहेका गिरी यसअघि प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीसमेत थिए। राजनीतिमा उनको स्वच्छ छबी छ। गिरी पूर्व शिक्षकसमेत हुन्। तिलोत्तमाको ढिंगरनगरमा रहेको जनज्योती माविमा उनले पढाएको विगत छ। २०२२ सालमा १२ वर्षको उमेरमै गुल्मीमा तत्कालीन पञ्चहरूविरुद्ध अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीहरूसँगै आन्दोलनमा सहभागी गिरी गुल्मीबाट २०३४ सालमा रुपन्देही बसाइ सरेका हुन्।

बहुदलीय व्यवस्थाको पहिलो गाविस अध्यक्षसमेत हुन्, उनी। शंकरनगर गाविसमा गिरी पहिलो जननर्वाचित अध्यक्ष हुन्। उनले सहिद गंगालाल पुस्तकालयको महासचिव, क्रान्तिकारी बुद्धिजीवी संघ, शिक्षक संगठन, युवा सक्रिय दल, दक्षिण एशियामै ऐतिहासिक मानिने सोह्र–छत्तीस कुला मौजाको नेतृत्व हुँदै किसान आन्दोलनमा सरिक भएर किसानमा वामपन्थी राजनीति प्रवाह गरेका थिए।

२०६१ साल माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रको शाहीको ‘कु’ को विरोधको नेतृत्व गरेको भन्दै उनलाई पक्राउ गरि जेल चलान गरियो। २०४६ देखि पार्टी कमिटीको नेतृत्व गरेका गिरीले सोही साल नेकपा मालेको जिल्ला कमिटी सदस्य, सोही समयमै जिल्ला वाममोर्चाको सदस्य, २०४७ सालमा पार्टी एकीकरण भएपछि बनेको नेकपा एमालेको जिल्ला कमिटी सदस्य, २०५६ सालमा जिल्ला कमिटी रुपन्देहीको उपसचिव भएर काम गरेका थिए। गिरी रुपन्देही क्षेत्र नं. २ (१) बाट निर्वाचित सांसद् हुन्।

कर्णालीमा आलोपालोमा सहमति

रुकुमपश्चिको प्रदेशसभा (ख) बाट निर्वाचित राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शर्माले २५ जना सांसदको हस्ताक्षरसहित बुधबार प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। प्रदेश प्रमुखको कार्यालयले पुस २१ गते सात दिनको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको थियो। बुधबार ५ बजेभित्र दाबी पेस गर्ने समय सीमा तोकिएको थियो। तोकिएकै अवधिभित्र २५ जना सांसदको समर्थन जुटाएर शर्माले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेका थिए।

वर्तमान सत्ता गठबन्धनको भागवण्डामा कर्णालीमा सरकारको नेतृत्व माओवादीको भागमा परेको थियो। शर्मालाई माओवादीका १३, एमालेका १०, एकीकृत समाजवादीका एक र राप्रपाका एक जना सांसदको समर्थन छ। ४० सदस्यीय प्रदेशसभा रहेको कर्णालीमा बहुमतको सरकार गठन गर्न कम्तिमा २१ जना सांसद चाहिन्छ। शर्माको पक्षमा २५ जना सांसदले हस्ताक्षर गरेका छन्। माओवादी, एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा शर्मा मुख्यमन्त्री बनेसँगै प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्ष बनेको छ। यहाँ कांग्रेस १४ सांसदसहित पहिलो दल बनेको छ। यस्तै एकजना स्वतन्त्र सांसद छन्। मुख्यमन्त्री तथा मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

सत्ता गठबन्धनबीच कर्णालीमा पाँच बर्ष नै माओवादीले सरकारको नेतृत्व गर्ने शीर्ष तहमा सहमति भएको थियो। तर, शीर्ष तहमा भएको सहमति प्रदेशमा उल्टिएको छ। कर्णालीमा माओवादी र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति प्रदेश तहमा जुटाएका छन्। दुई दलबीच भएको सहमतिअनुसार अब पहिलो साढे दुई वर्ष माओवादीले सरकारको नेतृत्व गर्नेछ। त्यसपछि साढे दुई वर्षसम्म एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

यस्तै, मुख्यमन्त्री र तीनवटा मन्त्रालय माओवादीले लिने र एमालेले तीनवटा मन्त्रालय लिने पनि सहमति भएको छ। दुई दलबीच भएको सहमतिअनुसार प्रदेशमा हाल रहेका ८ वटा मन्त्रालयमा एउटा मन्त्रालय घटाएर मन्त्रालयको संख्या ७ वटा कायम गरिनेछ।

को हुन् शर्मा ? 

राजकुमार शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका छन्। यसअघि माओवादीबाट महेन्द्रबहादुर शाही र काँग्रेसबाट जीवनबहादुर शाही मुख्यमन्त्री बनेका थिए। कर्णालीको तेस्रो मुख्यमन्त्री बन्न सफल शर्मा माओवादीको तर्फबाट रुकुमपश्चिमबाट प्रदेशसभामा निर्वाचित भएका हुन्। केहीदिन पहिला मात्र उनी माओवादी संसदीय दलको नेतामा चयन भएका थिए।

शर्माको जन्म २०२८ साल भदौमा रुकुमको चौरजहारी नगरपालिकास्थित साक्चामा भएको हो। बाल्यकालबाटै उनी राजनीतिमा रुची राख्थे। २०४१ सालमा उनकै घरमा आयोजित अनेरास्ववियुको क्षेत्रीय सम्मेलनमा सहभागी बने। त्यसपछि उनी राजतन्त्र विरोधी अभियानमा संगठित हुँदै राजनीतिमा होमिए। उनले २०४६ मा मोटो मशालको पार्टी सदस्यता प्राप्त गरेका थिए। कक्षा १० सम्म अध्ययन गरेका उनी २०५० सालदेखि माओवादीले थालेको जनयुद्धमा होमिए।

माओवादीले युद्धमा छँदा २०५३ सालको पुसमा डोल्पाको त्रिवेणीस्थित प्रहरीचौकीमा आक्रमण गर्ने योजना बनायो। त्यही क्रममा शर्मा लडाइँमा सामेल भए। २०५४ तिर कर्णालीका विभिन्न जिल्लाको नेतृत्व सम्हालेका शर्माले २०५८ पछि भने मुगु र डोल्पाको नेतृत्व गरे। २०६१ मा दैलेख झरेका उनी शान्ति प्रक्रिया सुरु हुँदासम्म दैलेखमा रहेर पार्टीको काममा सक्रिय भए। शान्ति प्रक्रियापछि पार्टीका विभिन्न मोर्चाको नेतृत्व गरेका उनले पार्टीको केन्द्रीय प्रचार विभागमा रहेर काम गरेको अनुभव छ। हाल उनी नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यको भूमिकामा क्रियाशील छन्।

सुदूरपश्चिममा रावल 

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन्। सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदहरूको समर्थन आवश्यक पर्छ।

एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना गरी उनलाई २९ जनाको समर्थन छ। २९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय पुगेका रावललाई बुधबार अपराह्न प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्रीको शपथ भने बिहीबार हुने भएको छ। सुदूरपश्चिममा नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिपछि उनी मुख्यमन्त्रीमा चयन भएका हुन्।

को हुन रावल ? 

राजेन्द्र रावलको जन्म २०२१ जेठ १६ गते बैतडीको दशरथचन्द नगरपालिका–५ मारकण्ड गाउँमा भएको हो। उनी २०३६ सालको जनमत संग्रहको आन्दोलनमा सहभागी थिए।  उनी २०३९ सालमा अनेरास्ववियुको राजनीतिबाट एमालेको राजनीतिमा आएका हुन्। २०४२ सालमा बैतडीमा नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनको नेतृत्व गरेकाले पक्राउसमेत परे। उनी २०४६ सालमा प्रेमसिंह धामी नेतृत्वको तत्कालीन नेकपा (माले) को प्रथम जिल्ला संगठन कमिटी सदस्यसमेत भए। २०४७ सालमा अनेरास्ववियु तेस्रो जिल्ला अधिवेशनबाट कञ्चनपुर अध्यक्षमा निर्वाचित भए। २०४८ सालमै अनेरास्ववियु पाचौँ राष्ट्रिय परिषद् सदस्य भए।

२०४९ सालमा महाकाली सन्धीविरुद्धको आन्दोलनमा उनी जेल परे। २०५१ सालमा नेकपा (एमाले) को जिल्ला संगठन विभाग प्रमुख र गाउँ जागरण अभियानको उत्प्रेरक भई महाकाली अञ्चलका चारै जिल्लामा उनले अभियान सञ्चालन गरे। २०५४ देखि २०५९ सम्म जिल्ला विकास समिति कञ्चनपुरको उपसभापति र २०५४ सालमा एमाले कञ्चनपुरको पार्टी उप–सचिव, त्यसपछि दुई कार्यकाल सचिव, २०६२ मा नेकपा (एमाले) को महाकाली अञ्चल समन्वय कमिटीको सचिव पनि भए।

२०७५ मा केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटी सचिव तथा डडेल्धुरा जिल्ला इन्चार्ज भईसकेका उनी नेकपा एमाले पोलिट्ब्युरो सदस्य तथा सुदूरपश्चिम सह–इन्चार्ज हुन्। उनी यसपालि नेकपा एमालेबाट सामानुपातिक सांसद हुन्। अन्नपूर्णपोष्टबाट