दसैंअघि नारायणीमा पानीजहाज सञ्चालनमा आउने

काठमाडौं, साउन । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ। क्रुज दसैंअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले शनिबार चितवनमा पत्रकार सम्मेलन आयोजना गरी दसैं अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिएको हो । सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि काम थालिएको सो अवसरमा जानकारी दिइयो ।

प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले निर्माणको काम अन्तिम चरणमा पुगिसकेकाले दुई महिनापछि अर्थात् दसैंअघि सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको बताए ।

भरतपुर महानगरपालिका– १६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको छ ।

ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो । क्रुज सञ्चालन गर्न करिब रु ३५ करोड लागत लाग्ने अनुमान गरिएको कँडेलले बताए । क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुनेछ ।

क्रुजमा बिहानको ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहनेहरूले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् ।

प्रत्येक क्रुजिङ करिब तीन घण्टाको हुनेछ। काभ्रेघाटदेखि सुरू यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि बाटोको समेत अध्ययन भइसकेको छ ।

एकपटकमा २ सय जनालाई सेवा दिने गरी निर्माण भइरहेको क्रुज दुईतला, १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ। क्रुजको भुइँतला वातावरण अनुकूलित हुनेछ भने माथिल्लो तला खुला रहनेछ।

क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनपश्चात् नर्वेजियन प्रविधिको प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा नारायणी नदी किनारमै निर्माण थालिएको हो।

निर्माणको जिम्मा लिएको भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेसनलका निर्देशक ओजस सेवा स्टियमले लामो समयदेखि भारत, मलेसिया, श्रीलंका, दुबई, सिङ्गापुरलगायतका देशमा सफलतापूर्वक काम गरिसकेकाले नारायणी नदीमा सफलतापूर्वक क्रुज सञ्चालनमा ल्याउने जानकारी दिए।

क्रुजमा दुई इञ्जिन रहनेछन्। क्रुजको १ दशमलव ८ किलोमिटर प्रतिघण्टाको गति रहनेछ।

क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो। यो निर्माणका लागि १५ फिट गहिरो पोखरी निर्माण गरिएको छ। क्रुजको अघिल्लो भागमा एकसिङ्गे गैंडाको टाउको आकृति हुनेछ।