सन्दीप लामिछानेको मुद्दामा सुनुवाई सुरु

काठमाडौँ । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाई आज हुँदै छ। १७ वर्षीया किशोरीलाई बलात्कार गरेको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका लामिछानेको पटक पटक पेशी चढे पनि सुनवाई भने हुन अझै भएको छैन।

कहिले हेर्न नभ्याउने त कहिले निवेदकका वकिलका तर्फबाट पेशी स्थगित हुँदै भएको छ। न्यायधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा आज पेशी चढेको हो। अहिले मुद्दाको सुनुवाई भइरहेको छ।

आज नै बहस सकिएको खण्डमा आदेश आउनेछ। जिल्ला अदालत काठमाडौंको आदेश सदर भएमा उनी जेलमा नै बस्ने छन्। अदालतले धरौटी मागेको खण्डमा धरौटी बुझाएर रिहा भएर बाहिरै बसेर उनले मुद्दा लड्नुपर्ने छ।

गत भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। सोही उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्।

कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण भएपछि पक्राउ परेका हुन्।

जिल्ला अदालत काठमाडौंले पीडित किशोरीको उमेरको लागि अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र मगाउन आदेश दिएको थियो।