भण्डारीद्वारा अमेरिकी संसदमा शपथ ग्रहण

काठमाडाैँ । अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गरेकाे नेपालीमुलका पहिलो अमेरिकी विधायक डा. ह्यारी भण्डारीले शपथ ग्रहण गरेको छ ।

नेपालीमुलबाट अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो हुन् । मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारी हिन्दुहरूको पवित्र ग्रन्थ भागवत गीता छोएर शपथ लिएको हो ।

शपथ ग्रहणपछि संक्षिप्त कुराकानीमा भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र समावेशीताको कारण एक आप्रवासीको रूपमा मतदाताले मत दिएर विजयी गराउनु महत्त्वपूर्ण उपलब्धि भएको टिप्पणी गरे ।

भण्डारीले अगाडि थप्नु भयो, “म मेरो जिम्मेवारी वहन गर्दागर्दै अमेरिकामा रहनुभएका नेपाली भाषी, यही भूमिमा जन्मिएका नेपाली अमेरिकनको सपनालाई समेत केन्द्रमा राखेर काम गर्नेछु । भण्डारीले आफ्नो कार्यकाल रहेको स्थानमा नेपालको झण्डा र सगरमाथाको फोटोसमेत राख्नु भएको छ । यस अगाडि आयोजित एक बधाई कार्यक्रममा डा भण्डारीले गीताको सार जस्तै कर्म गर्न आफू लागिरहने बताउनुभएको थियो । उनले अगाडि थपे, “सार्वजनिक सेवामा काम गर्न मलाई गीताको सारले सदैव प्रेरित गर्ने बताए ।” साथमा नेपाली समुदायका अगुवाहरूले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

मेरिल्याण्ड राज्यको तल्लो सदन जनरल एसेम्बलीमा डिष्ट्रिक आठ बाट १९ हजार सात सय दुई मत ल्याएर गत नोभेम्बर महिनाको ८ तारिखमा भएको निर्वाचनमा विजयी भएको हो । उनी उक्त क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर विजयी भएको हो । भण्डारीले अघिल्लो कार्यकालमा दर्जन विधेयक संसदबाट पारित गराउन सफल भएको थियो । स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा बसेर काम गरेका भण्डारीले महामारीको बेलामा कसरी जुँध्ने र नागरिकको जीवन रक्षार्थ कस्तो रणनीति अङ्गीकार गर्ने भन्ने अत्यन्तै संवेदनशील विषयमा अनुभव लिन पाएको बताए ।

अमेरिकामा एक आप्रवासीको रूपमा नेपालबाट सन् २००५ मा अमेरिका आएका भण्डारीले डेढ दशक भन्दा बढी मेरिल्याण्डको विद्यालयमा अध्यापन गराउनुभएको अनुभव छ, भने मेरिल्याण्डमा रहेको युनिभर्सिटी अफ मेरिल्याण्डबाट विद्यावारिधिसमेत गरेको छ । नेपालको पर्वत जिल्लाको थापाथानामा बुबा अम्मरबहादुर भण्डारी र आमा कान्तिकुमारीको कोखबाट जन्मेका भण्डारी आफ्नी पत्नी सङ्गीता भण्डारीसहित सपरिवार अमेरिकामा बस्दै आएको छ ।

व्यावसायिक, राजनीतिक र अध्ययनमा भण्डारीको सफलता आप्रवासी नेपाली अमेरिकनको लागि मात्र नभई एसियाली अमेरिकनहरूको लागि पनि रोचक रहेको छ । आगामी चार वर्ष भण्डारीले मेरिल्याण्ड राज्यको विधायकको रूपमा काम गरेर आवश्यक पर्ने कानुनको तर्जुमा तथा बजेट निर्माणमा एक विधायकको हैसियतले काम गर्नुहुनेछ । रासस