युएईमा एक वर्षमा ९८ जना नेपालीको मृत्यु

काठमाडौं, साउन । आर्थिक वर्ष ०७५/०७६ मा संयुक्त अरब इमिरेट्स (युएई)मा जम्मा ९८ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष ०७५/०७६ मा विभिन्न कारणले युएईमा मृत्यु भएका नेपालीहरुको मृत्युको कारणहरुबारे विस्तृत अध्ययन गर्दै नेपाली दूतावास युएईले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

नेपाली दूतावास युएईको तथ्यांक अनुसार ५ महिला र ९२ जना पुरुषको मृत्यु भएको हो । प्राकृतिक र आत्महत्याका कारण मृत्यु हुनेको संख्या धेरै छ । ४८ जना पुरुषको प्राकृतिक कारणले मृत्यु भएको छ । प्राकृतिक कारणमा मदिरा सेवन,हृदयघात,मस्तिष्क पक्षघातलगायतले मृत्यु हुने गरेको छ । त्यस्तै २ महिला र २१ जना पुरुषको सवारी दुर्घटनामा मृत्यु भएको दूतावासले जनाएको छ ।

२३ जना नेपालीले आत्महत्या गरेका छन् । २ महिला र २१ पुरुष गरी २३ जनाले आत्महत्या गरेका हुन् । जुन अघिल्लो वर्षभन्दा कम हो । अघिल्लो वर्ष ३१ जनाले आत्महत्या गरेका थिए ।
पछिल्लो समय संयुक्त अरब इमिरेट्स (युएई)मा नेपालीहरूले आत्महत्या गर्ने क्रम घट्दो रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

यस्तै,युएईमा १ महिला र ३ पुरुषका हत्या भएको छ । अघिल्लो वर्षको अनुपातमा यो वर्ष आत्महत्यालगायत अन्य प्रकारको मृत्युदर घटेको दूतावासका द्धितीय सचिव तथा सूचना अधिकारी बिष्णु अधिकारीले बताइन् ।