बागमती प्रदेशसभाको उपसभामुखमा तीन जनाको उम्मेदवारी दर्ता

काठमाडौँ । बागमती प्रदेशसभाको आगामी माघ २ गते हुने उपसभामुख पदको निर्वाचनको लागि दलगतरुपमा ३ जना उम्मेदवारले आज अपराह्न आ–आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् ।

उम्मेदवारी दर्ता गराउनेमा ३ जना महिला उम्मेदवार रहेकी छिन् । सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईंले उम्मेदवारी दर्ता गराएकी छिन् । उनको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा रहेकी छिन् ।

यसैगरी, नेपाली कांग्रेसको तर्फबाट सुना परियारले उम्मेदवारी दिएकी छिन् । उनको प्रस्तावकमा उत्तम जोशी र समर्थक याङकिला शेर्पा छन् । यस्तै, नेपाल मजदुर किसान पार्टी नेमकिपाको तर्फबाट गीता काफ्लेले उम्मेदवारी दिएकी छिन् । उहाँको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईँ र समर्थकमा सृजना सैजू छिन् ।

प्रदेशसभाको उपसभामुखको निर्वाचन आगामी माघ २ गते अपराह्न ३ बजेको समय निर्धारण गरिएको निर्वाचन अधिकृत तथा प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् ।

प्रदेशसभामा हाल विभिन्न सात राजनीतिक दलका गरी ११० जना प्रदेशसभाका सदस्य रहेका छन् ।