शरीर पूरै जलेको अवस्थामा एक व्यक्तिको शव फेला

काठमाडौँ काठमाडौंको पशुपतिनाथ मन्दिरनजिकैको जंगलमा जलेको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ ।

पशुपति मन्दिर परिसरको किरातेश्वर मन्दिर भन्दा तलपट्टि शरीर पूरै जलेको अवस्थामा एक पुरुषको शव भेटिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार जलेका कारण शवको पहिचान हुन सकेको छैन । तर शवनजिकै उसको पर्सलगायतका सामग्री भेटिएका कारण त्यसबारे सोधपुछ भइरहेको बताए । शवनजिकै बोतलमा पेट्रोल पनि भेटिएकाले पेट्रोल छर्केर आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

शनिबार बिहान शव भेटिएको खबर आएपछि अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर शव पोस्टमार्टमका लागि पठाइएको एसपी कोइरालाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।