एमालेका महासचिव पोखरेल भन्छन्, ‘गणतन्त्र समस्यामा देखियो’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्र समस्यामा परेको खुलासा गरेका छन् । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च– नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेले सो कुरा बताएका हुन् ।

अहिलेको अवस्थामा नेपालको अर्थतन्त्र निकै अफठ्यारोमा रहेको भन्दै यसका लागि सबै पक्ष सचेत हुनु पर्ने उनको भनाइ थियो । ‘अहिले अर्थतन्त्र डिलमा छ । यसलाई लयमा ल्याउनका लागि धेरै महनत गर्नु पर्ने अवस्था देखिन्छ,’ उनले भने । लोकतन्त्र, गणतन्त्र पनि अहिले समस्यामा रहेको बताएका महासचिव पोखरेलले यसको संस्थागत विकासका लागि सबै सचेत रहनु पर्ने धारणा व्यक्त गरे ।

महासचिव शंकर पोखरेलले राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको स्थापनामा कम्युनिष्टहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।कम्युनिष्टहरु मानवअधिकारका प्रवद्र्धक रहेका बताएका उनले यसमा प्रतिबद्ध रहेको समेत बताए ।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले देशको विकासका लागि राज्य, बजार र नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताए । राज्यसंघ प्रशस्त शक्ति हुने, बजारसँग अर्थतन्त्र र नागरिक समाजले नागरिका भावना उठाउने उनको भनाइ थियो ।

त्यस्तै आयोगका सचिव मुरारी प्रसाद खरेलले पछिल्लो समयमा मानवअधिको परिभाषामा पनि परिवर्तन आएको बताए । द्धन्द्धको समयमा मानिसको ज्यान जोगाउने विषय मुख्य रहेको भए पनि अहिले मानिसको सामाजिक, आर्थिक र सांस्कृतिक पक्षलाई बढी महत्व दिइएको उनको भनाइ छ । ७५ वर्ष पहिले बनेको मानवअधिकारको विश्वव्यापि घोषणा पत्र अहिले पनि निकै सान्दर्भिक रहेको उनको तर्क थियो ।

आयोग र मानव अधिकार आयोगको क्षेत्रमा काम गर्ने संघ संस्थाको भूमिका निकै महत्वपूर्ण हुने बताएका सचिव खरेलले आयोगका सिफारिस कार्यान्वयन गरेर आयोगलाई बलियो बनाउ पनि सबै पक्षलाई आग्रह गरे ।