मधेस प्रदेश सभा बैठक स्थगित

काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार बस्ने भनिएको मधेस प्रदेश सभा बैठक स्थगित भएको छ ।

विमान दुर्घटनाको शोकमा बैठक स्थगित गरिएको मधेस प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले बताएका छन् । देश शोकको घडीमा रहेकाले प्रदेश सभाको बैठक स्थगित गर्नु परेको उनले जानकारी दिए ।

प्रदेश सभा बैठकबाट सभामुखको निर्वाचन गर्नुका साथै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम तय गरेका थिए। स्थगित गरिएको प्रदेश सभा बैठक अब मङ्गलबार बस्ने सचिव यादवले जानकारी दिए ।

मुख्यमन्त्रीमा नियुक्त भएका यादवले मङ्गलबार दिउँसो १ बजे विश्वासको मत लिने र सभामुखको निर्वाचनसमेत हुने कार्यसूची तय गरेका छन् ।