पीडितको पक्षमा खम्बा भएर उभिन प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा हुनु भएका प्रहरी नायब महानिरीक्षक डिआइजीहरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिएका छन् ।

पुस २८ गते भएको सरुवापश्चात् जिम्मेवारी हेरफेर भएका डिआइजीहरूलाई सोमबार गृह मन्त्रालयमा निर्देशन दिनुहुँदै मन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेप बिना सङ्गठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको बताउनुभयो ।

विगतमा सरुवालाई सजायको रूपमा लिने गरिएको भएता पनि यस पटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वागर नराखी जनताको हितका पक्षमा काम गर्न निर्देशन दिनुभएको हो ।

प्रहरी सङ्गठनमा हरेपछि आदेशको पालना त गर्नु पर्छ नै तर कानुन बमोजिमका आदेशको पालना गर्न पनि गृहमन्त्रीले निर्देशन दिनु भएको छ । अब प्रहरी नेतृत्वका लागि पनि कुनै शक्ति केन्द्रमा व्यक्तिगत विवरण लिएर धाउनु नपर्ने भन्दै गृहमन्त्री लामिछानेले तपाईँको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ यसैको आधारमा नेतृत्व चयन हुने भएकाले पनि जिम्मेवारी निर्वाहमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

प्रहरी सङ्गठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीहरूमा सद्भाव राखेर काम गर्न पनि उहाँको निर्देशन थियो । प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधिकारीहरूलाई उहाँले सधैँ पीडितको पक्षमा खम्बा भएर उभिन पनि आग्रह गर्नुभयो । कसैको प्रभाव वा दबाबमा नपरी नगरिको साथी बन्ने गरेर नियम कानुनको पालनमा दृढ रहने पनि मन्त्री लामिछानेले निर्देशन दिनु भएको छ ।

सङ्गठनमा क्षमता भएकाहरूलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्रभावित हुन नदिने अडानमा आफू रहेको भन्दै उहाँले यति सुधार गर्न नसके आफू गृहमन्त्री भएको औचित्य नरहने समेत प्रष्ट पार्नुभयो । शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा नयाँ जिम्मेवारी पाउनु भएका डि  आइजीहरूको क्षमता मूल्याङ्कन गरेर सङ्गठनले गरेको विश्वास डगमगाउन नदिन पनि गृह मन्त्री लामिछानेले निर्देशन दिनु भएको छ । गोरखापत्र