मन्त्रिपरिषद्को विस्तार आजै टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आजै टुङ्गो लाग्ने बताएका छन् ।

भक्तपुरको बालकोटस्थित नेकपा एमालेअध्यक्ष केपी ओली निवासमा आज बिहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको भेटका क्रममा सो सहमति भएको भेटवार्ता सकेर बाहिरने क्रममा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीसँग बताएका थिए ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आजको छलफलमा मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भएको छ । बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रधानमन्त्री दाहालले भने, सरकारले पूर्णता पाउनेबारेमा सबै कुरा आजै टुङ्गोमा पुग्ने बताए ।

सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, विश्वासको मत दिने सबै पार्टीका नेताहरुसँग छलफल भइरहेको छ, कांग्रेससँग पनि छलफल हुन्छ, भोलि मङ्गलबार पनि छलफल हुन्छ । सभामुखको निर्वाचनकाबारेमा पनि भोलिको छलफलमा निष्कर्षमा पुगिने सङ्केत उनले गरेका छन् ।

आजको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचन, आगामी रणनीति र शक्ति सन्तुलन मिलाउनेबारेमा छलफल भएको बताएका छन् । सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटको विषय करिब सहमतिमा पुगेको पनि प्रधानमन्त्री दाहालले सङ्केत गरेका छन् ।